तपाईँ सुन्दै हुनुहुन्छः

सुनपा राष्ट्रपति रनिङ शिल्डको उपाधि अरनिको माध्यमिकलाई

भक्तपुर । सुर्यविनायक नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि अरनिको माध्यमिक विद्यालय दधिकोटले जितेको छ । 

अरनिको माविले २५ स्वर्ण, १२ रजत र ११ कास्य गरी कुल ४८ पदक प्राप्त गर्दै प्रतियोगिताको उपाधि जित्न सफल भएको हो ।

कुलमाया भगवती माध्यमिक विद्यालयले ८ स्वर्ण, ३ रजत र ४ कास्य गरी कुल १५ पदकसहित दोस्रो स्थान हासिल गर्‍यो। 

यसैगरी मिड–भ्याली सेकेन्डरी स्कुलले ६ स्वर्ण, ५ रजत र ४ कास्य गरी कुल १५ पदक प्राप्त गर्दै तेस्रो स्थान हात पारेको छ । 

तीन दिनसम्म सञ्चालित प्रतियोगितामा सामुदायिक तथा संस्थागत गरी ३५ वटा विद्यालयका ८९६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, तेक्वान्दो, कबड्डी, उसु र कराँते गरी कुल ६ खेल  समावेश गरिएको थियो । विजयी विद्यालय तथा खेलाडीलाई सुर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले नगद पुरस्कार, शिल्ड, पदक र प्रमाणपत्र वितरण गर्नुभयो । 

विजयी खेलाडी तथा विद्यालयलाई बधाई ज्ञापन गर्दै नगर प्रमुख थापाले आगामी जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगितामा पनि सुर्यविनायक नगरपालिकाले अझ उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । 

सोही अवसरमा प्रतियोगितामा विधागत रूपमा उत्कृष्ट छात्र–छात्रालाई पनि सम्मान गरिएको थियो ।

प्रतियोगिता अन्तरगत यस वर्षदेखि सुरु भएको  स्काउट मार्चपासमा सहभागी समूहको मूल्याङ्कनमा मनोरम ई–स्कुल प्रथम, ईडेन गार्डेन ई.स्कुल द्वितीय र ज्योति माध्यमिक विद्यालय तृतीय हुँदै पुरस्कार हात पारे । 

प्रथम हुने विद्यालयलाई रु ८ हजार, द्वितीयलाई ५ हजार र तृतीयलाई ३ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको सुर्यविनायक खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापाले बताउनुभयो ।

सामाजिक विकास समितिका संयोजक तथा नगर प्रवक्ता रवीन्द्र सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपप्रमुख सरिता तिमल्सिना भट्टराई, वडा नं.२ का वडाध्यक्ष प्रदीप कार्की र नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापाले प्रतियोगीताबारे चर्चा गर्नुभयो । 

समापन तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, वडा नं १ का वडाध्यक्ष सानुकाजी कायस्थ, वडा नं ४ का वडाध्यक्ष लछुराम न्यौपाने, वडा नं ६ का वडाध्यक्ष ईश्वर खडका, वडा नंं ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, ९ का वडाध्यक्ष भगवान् खत्री लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button