राष्ट्रपति पौडेलसँग जापानका परराष्ट्र राज्यमन्त्रीको भेटवार्ता
'द्विपक्षीय सम्बन्ध र लगानीका अवसरमा जोड'
टोकियो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव हाम्रो द्विपक्षीय सम्बन्धको एक कोशेढुङ्गा भएको बताउनुभएको छ। उहाँले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान एक महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदार रहेको र नेपालको विकास प्रक्रियामा जापानले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको हो ।

जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेलसँग जापानका परराष्ट्र राज्यमन्त्री होरी इवाओले आज यहाँ गर्नुभएको शिष्टाचार भेटका अवसरमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा यहाँको चार दिने भ्रमणमा हुनुहुन्छ ।

“जापानले नेपाललाई द्विपक्षीय अनुदान, द्विपक्षीय ऋण, बहुपक्षीय सहायता र प्राविधिक सहयोग गर्दै आएको छ जस्ले मानव संसाधन विकास, स्वास्थ्य, कृषि विकास, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति जर्गेनाका क्षेत्रमा उल्लेख्य भूमिका खेलेको छ, यी क्षेत्रहरूमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट हामी अझैँ लाभान्वित हुन चाहन्छौँ”, भेटमा राष्ट्रपति पौडेलको भनाई उद्यृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
नेपाल सन् २०२६ मा अति कम विकसित राष्ट्रहरूको श्रेणीबाट स्तरोन्नतिको क्रममा रहेको र यसमा नेपालले सदाझैँ जापानबाट सद्भाव र सहयोग प्राप्त गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
“नेपालको विकास प्राथमिकताका क्षेत्रमा जापानी लगानी आकर्षित गर्ने ठुलो सम्भावना छ, हामीले नेपालमा व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तनलाई प्रवर्द्धन गर्न कानुनी, प्रक्रियागत र संस्थागत सुधार गरिसकेका छौँ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
सांस्कृतिक रूपमा दुई मुलुक गौतम बुद्धको शिक्षाबाट प्रेरित रहेको तथा बुद्धको जन्मस्थल लुम्बिनीले नेपाल र जापानका जनताबीच बलियो पुलको काम गरेको सन्दर्भ उल्लेख गर्दै उहाँले लुम्बिनीको विकासमा जापानको सहयोगप्रति आभार प्रकट गर्नुभयो । राष्ट्रपति पौडेलले जापानको सामाजिक–आर्थिक क्षेत्रमा आप्रवासी नेपाली समुदायको योगदानले द्विपक्षीय सम्बन्धलाई कुनै न कुनै रूपमा बलियो बनाउन मद्दत पुर्याएको उहाँको भनाइ थियो ।

सो अवसरमा जापानका परराष्ट्र राज्यमन्त्री होरी इवाओले भदौ २३ र २४ गते भएको प्रदर्शनीपछि राष्ट्रपति पौडेलले संविधान र लोकतन्त्रको रक्षाका लागि खेल्नुभएको भूमिकाप्रति देशबाहिर पनि अत्यन्त प्रशंसा भएको बताउँदै नेपालमा शान्ति, स्थायित्व र लोकतन्त्रको सुदृढीकरणका लागि जापानले सधैँ सहयोग गर्ने बताउनुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिनुभयो ।
राज्यमन्त्री होरी इवाओले नेपालको शान्ति भनेको यो क्षेत्रकै शान्ति र विकास भएको उल्लेख गर्दै शान्ति र स्थायित्वका लागि फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न होस भन्ने जापानले चाहेको पनि बताउनुभएको थियो ।
यसै गरी उहाँले जापानले नेपालको विकासमा निरन्तर सहयोग जारी राख्ने बताउँदै बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको पुननिर्माण र कोटेश्वर जाम अन्त्य गर्न आवश्यक अण्डर पास निर्माण गर्ने जापानले निर्णय गरिसकेको पनि जानकारी दिनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्