तपाईँ सुन्दै हुनुहुन्छः

घोषणापत्रबिनै मत माग्दै उम्मेदवार

दैलेख। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार बनेका दैलेखका नेताहरू घोषणा पत्रबिना नै मतदातासँग भेटघाट गर्दै गाउँ–गाउँ पुगेका छन्। विगतका स्थानीय, जिल्ला, प्रदेश र सङ्घीय निर्वाचन अनुभव तथा देशको वर्तमान अवस्थालाई ध्यानमा राख्दै उनीहरूले पहिलो चरणमा मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिनुभएको छ।

दैलेख निर्वाचन क्षेत्र-१ र २ का प्रमुख राजनीतिक दलका उम्मेदवारले आ–आफ्नो क्षेत्रका गाउँपालिकामा मतदातासँग भेटघाट गर्दै मत माग्न थालेका छन्। जिल्ला सदरमुकाम रहेको क्षेत्र न-१ मा नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले गाउँ–गाउँ पुगेर मतदातासँग भेटघाट गरेका छन्। तर उनीहरूसँग अहिलेसम्म औपचारिक घोषणा पत्र छैन।

नेपाली काँग्रेसका उम्मेदवार बासना थापाले दैलेखका विभिन्न स्थानमा कार्यकर्ता र मतदातासँग भेटघाट गर्नु भएको छ। उहाँले घोषणापत्र निर्माणको काम जारी रहेको र छिट्टै मतदाताको हातमा पुर्‍याइने जानकारी दिनुभयो। थापाले समग्र दैलेखको विकास, जनमुखी सेवा प्रशासन, सुशासन र भ्रष्टाचार नियन्त्रणजस्ता विषय घोषणापत्रमा समेटिने बताउनुभयो।

नेकपा एमाले उम्मेदवार रविन्द्रराज शर्माले पनि गाउँ–गाउँ पुगेर मतदातासँग भेटघाट गर्दै मत माग्न सुरु गर्नु भएको छ। उनले जिल्लाको समग्र विकासमा एमालेको योगदान रहेको स्मरण गर्दै जनताको विश्वास र समर्थनले मात्र समृद्ध दैलेख निर्माण सम्भव हुने बताउनुभयो। शर्मा पनि घोषणापत्र निर्माणको चरणमा रहेको बताउँदै सुरुमा प्रत्यक्ष भेटमा ध्यान दिनुभएको हो।

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अमर बहादुर थापाले आफूलाई प्रदेश र सङ्घीय संसद्मा प्रतिनिधित्वको अनुभव भएको र जिल्लाको विकासका लागि महत्त्वपूर्ण योगदान दिन सक्ने बताउनुभयो। यद्यपि, उहाँसँग पनि घोषणा पत्र छैन।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नन्दकिशोर बस्नेतले पुराना दलले विकास गर्न नसकेको, भ्रष्टाचार र बेथिति बढाएको भन्दै नयाँ नेतृत्व परीक्षण गर्न मतदातालाई आग्रह गर्नुभएको छ। उहाँ पनि घोषणा पत्रबिना नै जनतासँग भेटघाटमा जुट्नुभएको छ।

दैलेख क्षेत्र न-२ मा पनि नेपाली काँग्रेसका उम्मेदवार दिक्पाल शाही, एमालेका लक्ष्मी प्रसाद पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका योगेन्द्र शाही र राष्ट्रिय स्वतन्त्र पार्टीका बखत बहादुर शाहीले घोषणा पत्रबिना नै गाउँ–गाउँ भेटघाट र घरदैलो सुरु गर्नुभएको छ। सबै पार्टीले घोषणापत्र तयार भएसँगै पुनः गाउँ–गाउँ पुगेर मतदातासँग बाँड्ने तयारी रहेको बताएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button