भिमफेदी कारागार र बालसुधार गृहबाट फरार ३ कैदी पक्राउ
मकवानपुर। मकवानपुर प्रहरीले भिमफेदी कारागार र बालसुधार गृह हेटौँडाबाट फरार रहेका ३ जना कैदिबन्दीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार खोजतलासका क्रममा भिमफेदी कारागारबाट फरार भएका २ जना कैदी र बालसुधार गृह हेटौँडाबाट फरार भएका एक जना बालकलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा जबर्जस्ती करणी मुद्दाका प्रतिवादी मकवानपुरको बागमती गाउँपालिका–६ कैलेडाँडा निवासी ३० वर्षीय मुन्ना स्याङ्तान र लागुऔषध ट्रामाडोल मुद्दाका प्रतिवादी हेटौँडा उपमहानगरपालिका–७ हरियाली निवासी २२ वर्षीय विशाल गोले रहेका छन्। यस्तै, लागुऔषध ब्राउनसुगर मुद्दामा बालसुधार गृह हेटौँडाबाट फरार भएका एक जना बालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार ती तीनै जनालाई माघ १७ र १८ गते विभिन्न स्थानबाट पक्राउ गरी पुनः भिमफेदी कारागार र बालसुधार गृह हेटौँडामा पठाइएको छ।
उल्लेखनीय छ कि जेन–जी आन्दोलनका क्रममा भिमफेदी कारागारबाट ४४० जना कैदीबन्दी र बालसुधार गृह हेटौँडाबाट ५८ जना बालबन्दी फरार भएका थिए।
फरार ७ जना प्रतिवादी पनि पक्राउ
यसैबीच मकवानपुर प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका ७ जना प्रतिवादीलाई पनि पक्राउ गरेको छ।
प्रहरीका अनुसार लागूऔषध, चोरी, चेक अनादर तथा हातहतियार खरखजना मुद्दाका प्रतिवादीहरूलाई आइतबार विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा हेटौँडा–१७ निवासी ३८ वर्षीय अर्जिन कुमार राउत, हेटौँडा–१४ निवासी ३३ वर्षीय चन्द्र बहादुर गोले, हेटौँडा–१६ निवासी २८ वर्षीय विनय बिक, हेटौँडा–१९ निवासी २० वर्षीय आकाश तामाङ र ३० वर्षीय मनोज लामा, हेटौँडा–१३ निवासी ३८ वर्षीय बुद्ध गोले तथा कैलाश गाउँपालिका–६ निवासी २७ वर्षीय विजय कुमार मुक्तान रहेका छन्।
जिल्ला अदालत मकवानपुरले लागुऔषध मुद्दामा अर्जिन कुमार राउतलाई १ महिना १७ दिन कैद र चन्द्र बहादुर गोललाई १ वर्ष कैद तथा ४ हजार ५ सय रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। त्यस्तै चोरी मुद्दामा विनय बिकलाई ४ महिना कैद, आकाश तामाङ र मनोज लामालाई क्रमशः ३ महिना कैद र ५ हजार २ सय रुपैयाँ जरिवाना तोकिएको थियो।
यस्तै चेक अनादर मुद्दामा बुद्ध गोलेलाई ३ हजार रुपैयाँ जरिवाना र हातहतियार खरखजना मुद्दामा विजय कुमार मुक्तानलाई २ वर्ष कैद तथा २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको थियो।
पक्राउ परेका सातै जनालाई फैसला कार्यान्वयनका लागि सम्बन्धित अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्