सार्वजनिक सेवा प्रसारण नेपालले नागरिकलाई पहिलो प्राथमिकतामा राखेर सेवा प्रवाह गर्नुपर्छ : अध्यक्ष विष्ट

विराटनगर । सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा.महेन्द्र विष्टले रेडियो नेपाल र नेपाल टेलिभिजन रूपान्तरण भइसकेकाले अब यसको उत्पादन र प्रसारण तथा पहुँचमा समेत रूपान्तरण हुनु आवश्यक रहेको बताउनुभएको छ ।
विराटनगरस्थित तारिणीप्रसाद कोइराला स्मृति संचारग्राममा आजदेखि सुरु भएको समावेशी प्रसार सामाग्री उत्पादन तथा प्रसारण सम्बन्धी तालिममा अध्यक्ष डा.विष्टले सार्वजनिक सेवा प्रसारण नेपालले अब नागरिकलाई पहिलो प्राथमिकतामा राखेर सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो ।

उहाँले सार्वजनिक सेवा प्रसारण नेपालको नाम र सङ्गठनको मात्रै नभई अब कामको पनि रूपान्तरण हुनु जरुरी रहेको बताउनुभयो ।
सार्वजनिक सेवा प्रसारण नेपालको तीन वटा पिलर भनेको मुलुकको समृद्धि, राष्ट्रिय एकता र विपद्मा नागरिकको जीवन रक्षा गर्नु रहेको उल्लेख गर्नुहुँदै उहाँले राष्ट्रिय एकताका लागि सबैको भाषा र संस्कृतिलाई सार्वजनिक सेवा प्रसारण नेपालले कार्यक्रम उत्पादन तथा प्रसारण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले रेडियो नेपालले अहिले २६ वटा भाषामा समाचार प्रसारण गरिरहेकाले अब हामीले २६ वटै भाषाभित्रको संस्कृतिलाई सम्बोधन गर्नु आवश्यक रहेको बताउनुभयो ।
सार्वजनिक सेवा प्रसारण नेपालको का.मु. प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले सार्वजनिक सेवा प्रसारणले समावेशी आवाजलाई आम जनताको बीचमा जोडने गरी कार्यक्रम प्रसारण गर्नुपर्ने बताउनुभयो ।

रेडियो नेपालको उपनिर्देशक एवं तालिमका संयोजक सुरेन्द्रप्रसाद यादवले तालिमको उद्देश्यबारे जानकारी गराउनुहुँदै यस प्रकारका तालिमले रेडियो नेपालको सेवा प्रसारणलाई समावेशी बनाउन थप सहयोग पुग्ने बताउनुभयो ।
रेडियो नेपालका उपनिर्देशक जनार्दन विष्टले सबै जातजाति र भाषाभाषीहरुलाई सम्बोधन हुने गरी रेडियो नेपालले समाचार तथा कार्यक्रम प्रसारण गरिरहेको बताउनुभयो ।
संचारग्राम विराटनगरका प्रमुख तिलकराम चौधरीले समावेशी र सहभागितामुलुक कार्यक्रमको उत्पादनलाई सञ्चार ग्रामले जोड दिएको बताउनुभयो ।
दुई दिनसम्म सञ्चालन हुने तालिममा कोसी तथा मधेस प्रदेशका रेडियो नेपालका संवाददाता, रेडियो नेपाल धनकुटा तथा बर्दिबास प्रादेशिक प्रसारण केन्द्र, तारिणीप्रसाद कोइराला स्मृति संचारग्रामका प्रमुख, विभिन्न भाषाका समाचार बाचक तथा कार्यक्रम उत्पादक , कर्मचारी तथा प्राविधिक गरी ४० जनाको सहभागिता छ ।







प्रतिक्रिया राख्नुहोस्