तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा निर्वाचनका लागि सुरक्षा तयारी तीव्र, ८० प्रतिशत मतदानस्थल अति संवेदनशील

बाजुरा I बाजुरा जिल्ला सुरक्षा समितिले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा तयारी तीव्र पारेको छ। 

निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा योजनाअनुसार विभिन्न तयारी अघि बढाइएको जिल्ला सुरक्षा समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो।

सुरक्षा योजनाअनुसार मतदानस्थल निरीक्षण, सुरक्षाकर्मी तथा कर्मचारी परिचालन, सुरक्षा निकायबीच समन्वयलगायतका काम भइरहेका छन्। जिल्लामा निर्वाचन प्रहरी भर्ना छनोट भइसकेको छ भने सुरक्षाकर्मी तथा कर्मचारी परिचालनका लागि आवश्यक विवरण सङ्कलन कार्य पनि भइरहेको छ।

प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार जिल्लामा कायम ७७ वटा मतदानस्थलमध्ये ६२ वटा अति संवेदनशील, १२ वटा संवेदनशील र ३ वटा सामान्य मतदानस्थलका रूपमा वर्गीकरण गरिएको छ। यसअनुसार कुल मतदानस्थलमध्ये ८० दशमलव ५१ प्रतिशत मतदानस्थल अति संवेदनशील सूचीमा परेका छन्।

निर्वाचन सुरक्षाका दृष्टिले मतदानस्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन वर्गमा विभाजन गरिएको जनाउँदै निरौलाले अति संवेदनशील तथा संवेदनशील मतदानस्थलमा विगतका निर्वाचन अनुभव, सम्भावित जोखिम, भौगोलिक अवस्था, राजनीतिक गतिविधि र स्थानीय परिस्थितिलाई आधार मानेर कडाइका साथ सुरक्षा व्यवस्था मिलाइने बताउनुभयो।

बाजुरामा कुल ८७ हजार ८ सय ६१ जना मतदाता रहेका छन्। जसमा पुरुष ४५ हजार ४ सय २८, महिला ४२ हजार ४ सय ३१ र अन्य २ जना मतदाता छन् भने जिल्लाभर ७७ वटा मतदानस्थल र १ सय १८ वटा मतदान केन्द्र कायम गरिएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button