छ वर्षपछि तेस्रो मुलुकका नागरिकलाई खुल्यो जमुनाह नाका
नेपालगञ्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु भएको छ ।
एक साताअघिदेखि अध्यागमन कार्यालय, जमुनाहले तेस्रो मुलुकका नागरिकका लागि आगमन र प्रस्थान पूर्ण रूपमा सञ्चालन गरेपछि त्यहाँबाट आउने पर्यटकलाई आवतजावत गर्न सहज भएको अध्यागमन कार्यालय, जमुनाह, बाँकेले जनाएको छ ।
अध्यागमन कार्यालय, जमुनाहकी प्रमुख दुर्गा वलीले आगमन र प्रस्थान सुरु भएसँगै दुई जना तेस्रो मुलुकका पर्यटक भारत हुँदै गएको जानकारी दिनुभयो । करिब छ वर्षको अवधिमा आगमन र प्रस्थान जमुनाहबाट सुरु भएको उहाँको भनाइ छ ।
“जमुनाह नाकाबाट आवतजावत गर्ने कुनै पनि पर्यटकलाई असहज हुने अवस्था रहन्न, हामीले दिने सबै सेवा सुरु गरेका छौँ”, उहाँले भन्नुभयो । नेपाल हुँदै भारत जाने र भारत हुँदै नेपाल आउनका लागि जमुनाह नाकाबाट निर्बाध आवतजावत गर्न मिल्ने उल्लेख गर्दै वलीले यसबाट पर्यटनका क्षेत्रमा नेपालले लाभ लिन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो नाकाबाट आवतजावत हुने भएपछि यहाँका होटेल चलायमान हुन्छन् र त्यसबाट आर्थिक कारोबार पनि बढ्न सक्छ ।”
वलीले तेस्रो मुलुकबाट जमुनाह नाका हुँदै आउने पर्यटक बाँके र बर्दियाका पर्यटकीय स्थलसम्म पुग्न सक्ने र त्यसबाट राजस्व सङ्कलन बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
भारतीय पत्रकार एसके मधेसीयाले नाकाबाट हुने आवतजावतले दुवै देशलाई लाभ हुने उल्लेख गर्दै भारत हुँदै जाने तेस्रो मुलुकका पर्यटकले सिधै नेपालका पर्यटकीय क्षेत्रको अवलोकन गर्न पाउने बताउनुभयो ।
नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीले नाका सञ्चालनमा आएपछि सबैभन्दा बढी खुसी यहाँका व्यवसायी हुने उल्लेख गर्दै तेस्रो मुलुकका पर्यटकले भारत हुँदै आएर बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको भरपुर आनन्द लिन सक्ने बताउनुभयो ।
उहाँले बाँकेमा बाँके राष्ट्रिय निकुञ्ज र बर्दियामा बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका बाघलगायत वन्यजन्तुको अवलोकन गर्न पाउने बताउनुभयो । कोरोनाकालदेखि जमुनाह नाकाबाट तेस्रो मुलुकका पर्यटक जमुनाह हुँदै नेपाल आउन बन्द गरिएको थियो ।







प्रतिक्रिया राख्नुहोस्