पोखरामा शनिबार देखि यू–१९ महिला साफ च्याम्पियनसिप फुटबल हुने

पोखरा । पोखरामा १९ बर्ष मुनिका खेलाडीहरू सहभागी (यू–१९) महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता भोलि (शनिबार) देखि सुरु हुने भएको छ । शनिबार प्रतियोगिताको उद्घाटन खेल बङ्गलादेश र भुटान बीच दिउँसो १२ बजे पछि हुने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
शनिबार अर्को खेल आयोजक नेपालले भारतसँग दिउँसो ३ बजे पछि प्रतिस्पर्धा गर्ने भएको सार्वजनिक गरिएको खेल तालिकामा उल्लेख गरिएको छ । यही माघ २४ गतेसम्म पोखरा रंगशालाको फुटबल मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एन्फाका प्रवक्ता सुरेश शाहले बताउनु भयो ।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को समन्वय तथा एन्फाको आयोजनामा हुने यस प्रतियोगितामा नेपाल सहित भारत, बङ्गलादेश र भुटान गरी चार देशका यू–१९ महिला टोलीको सहभागिता हुने भएको छ । श्रीलङ्का, पाकिस्तान र माल्दिभ्स भने यस संस्करणमा सहभागी नहुने भएका हुन् ।
यसैबिच, प्रतियोगितामा सहभागी हुने ४ देशका खेलाडीहरू पोखरा आइसक्नु भएको छ । शुक्रबार पोखराको एक होटलमा आयोजित सहभागी टिमका कप्तान र प्रमुख प्रशिक्षक बिच पत्रकार भेटघाट कार्यक्रम समेत आयोजना भएको थियो ।
नेपालका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले आफूहरूको तयारी राम्रो भएको बताउँदै यसपाली उत्कृष्ट फुटबल प्रदर्शन गर्ने जनाउनु भयो । काठमाण्डौंमा प्रशिक्षण गरे पनि पोखरा र काठमाडौँ हावापानीका दृष्टिले लगभग उस्तै रहेकोले खासै केही फरक नपर्ने उहाँले जनाउनु भयो ।
नेपाली टिमका कप्तान सुशीला केसीले आफूहरूले आफ्नो घरेलु मैदानमा दर्शको थप हौसलाले आफूहरूले उत्कृष्ट फुटबल खेल्ने बताउनु भयो । भारत विरुद्धको खेलमा उच्च मनोबलका साथ खेल्ने आफूहरू तयारी अवस्थामा रहेको उहाँको भनाई थियो । नेपालीको शिर उँचो पार्ने गरी आफूहरूले राम्रो फुटबल खेल्ने रणनीति बनाएको उहाँले जनाउनु भयो ।
प्रशिक्षणका लागि पोखरा महानगरपालिका–१९, लामाचौरस्थित गोस्तेघाट खेल मैदान प्रयोगमा ल्याइएको जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले बताउनु भयो । खेलाडी चेन्जिङ रुम, प्लेयर बक्स, ड्रेसिङ रुम लगायत आवश्यक भौतिक पूर्वाधार तयार पारिएको छ । कास्की जिल्ला फुटबल संघ, पोखरा महानगरपालिका खेलकुद विकास समिति र प्रदेश फुटबल संघ को सहकार्यमा मैदान मर्मत तथा पूर्वाधार निर्माण गरिएको अध्यक्ष गुरुङले बताउनु भयो ।
प्रतियोगिता सम्पन्न गर्न करिब २ करोड ४५ लाख १५ हजार २९० रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको एन्फाले जनाएको छ । साफका महासचिव पुरुषोत्तम कट्टेलका अनुसार माघ १७ देखि २४ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा राउन्ड रोबिन लिग प्रणाली लागू हुनेछ ।
भुटानका मुख्य प्रशिक्षक टंकमाया घली, टिम कप्तान सोनम चोदेन, भारतका प्रशिक्षक पमिला कोन्टी, कप्तान जुलान नोङमैथम, बङ्गलादेशका प्रशिक्षक बेटर बटलर र कप्तान अर्पिता विश्वासले आफूहरूले नेपालमा उत्कृष्ट फुटबल प्रदर्शन गर्ने गरी युवा खेलाडीहरू समावेश गरिएको जनाउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्