तपाईँ सुन्दै हुनुहुन्छः

बर्दघाटमा शहीद परिवारलाई सम्मान 

नवलपरासी पश्चिम् । पश्चिम् नवलपरासीको बर्दघाटमा सहिद परिवारलाई सम्मान गरिएको छ । बर्दघाट प्रज्ञा प्रतिष्ठानद्वारा बर्दघाट १० मा रहेको सहिद पार्कमा आयोजित एक कार्यक्रमबिच उहाँहरूलाई सम्मान गरिएको हो ।

सो अवसरमा बोल्दै बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठले प्रजातन्त्र, बहुदलीय व्यवस्था र संघीय गणतन्त्रजस्ता ठूला राजनीतिक परिवर्तन सहिदकै बलिदानका कारण सम्भव भएको बताउनुभयो । उहाँले सहिदको त्याग र योगदानको सम्मान गर्नु राज्य र समाज दुवैको दायित्व भएको उल्लेख गर्नुभयो ।

नगर प्रमुख श्रेष्ठले बर्दघाट नगरपालिकामा निर्वाचित भएपछि सहिद परिवारप्रति सम्मानस्वरूप मासिक दुई हजार रुपैयाँ सहयोग प्रदान गर्दै आएको जानकारी दिनुभयो । नगरले सहिदलाई उच्च सम्मान गर्दै आएको बताउँदै उहाँले सहिदको बलिदानलाई केवल स्मृतिमा सीमित नराखी व्यवहारमै सम्मान गरिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा बर्दघाट नगरपालिका–९ का अध्यक्ष चन्द्रकान्त चापागाईँले देशको परिवर्तनमा सहिदहरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले सहिदको भूमिका र परिवर्तनको मर्म कहिल्यै बिर्सन नहुनेमा जोड दिनुभयो ।

सशस्त्र द्वन्दका क्रममा सहिद हुनु भएका खेम नारायण फौजदार, खोर बहादुर चौधरी, चन्द्र ज्योति चौधरी, कृष्णमान श्रेष्ठ, बाबुराम चौधरी, मुक्तनाथ खनाल, विष्णु पाण्डे, विमल कँडेल लगायत सहिदका परिवारजनलाई सम्मान गरिएको थियो । सहिद परिवारका सदस्यहरूले सहिदप्रति माल्यार्पण तथा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

यसै अवसरमा सहिद स्मृति अध्ययन केन्द्र, बर्दघाट–१० भुतहा खोला शिरका अध्यक्ष पूर्णमान श्रेष्ठले सहिद स्मृति पार्कको सरसफाइ तथा सौन्दर्यीकरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ७ बजेदेखि १० बजेसम्म तीन घण्टा सहिद स्मृति पार्क क्षेत्रमा सरसफाइ गरिएको हो ।

सरसफाइ कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी, नगर प्रहरी, टोल विकास संस्था, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, शिक्षक–विद्यार्थी, आमा समूह, योग शिविरका सहभागी, बुद्धिजीवी तथा समाजसेवीहरूको सक्रिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button