तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन लक्षित सुरक्षा सुदृढीकरणबारे मुख्यमन्त्री आचार्य र प्रदेश प्रहरी प्रमुखबीच छलफल

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निर्वाचन लक्षित सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने विषयमा लुम्बिनी प्रदेशका प्रहरी प्रमुखसँग छलफल गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राप्ती उपत्यका (देउखुरी)मा आज आयोजित भेटघाटमा मुख्यमन्त्री आचार्य र प्रदेश प्रहरी नायव महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीबीच निर्वाचन लक्षित सुरक्षा रणनीति र त्यसको प्रभावकारी कार्यान्वयनका विषयमा छलफल भएको हो ।

छलफलका क्रममा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशका सबै जिल्लामा निर्वाचन लक्षित सुरक्षा योजना तयार भइसकेको उल्लेख गर्दै शान्ति सुरक्षाको व्यवस्थापनमा प्रहरीले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

“अति संवेदनशील मानिएका क्षेत्रमा थप ध्यान पुग्ने नै छ । नागरिकहरूको साथ र सहकार्य लिएर निर्वाचन सुरक्षालाई अझ सुदृढ बनाउन आवश्यक छ ।”, उहाँले भन्नुभयो । 

भेटमा प्रहरी नायब महानिरीक्षक खत्रीले निर्वाचन लक्षित सुरक्षा रणनीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने जानकारी गराउनुभयो । उहाँले शान्ति सुरक्षा कायम राख्ने कार्यमा प्रहरीको सक्रियता बढाइएको र सबै सुरक्षा निकायबीच समन्वयका साथ काम भइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button