कोसी पाथीभरा इण्डो–नेपाल टी–२० प्रतियोगिताको तयारी तीव्र

झापा । झापाको सदरमुकाम भद्रपुर–८स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा इण्डो–नेपाल २०–२० क्रिकेट प्रतियोगिताको तयारीलाई तीव्रता दिइएको छ ।
भद्रपुर क्रिकेट क्लवको आयोजनामा यही माघ २१ देखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तीव्र बनाइएको प्रतियोगिता आयोजक समितिका संयोजक तथा भद्रपुर नगरपालिका वडा नंं ८ का वडाध्यक्ष गौरव सुब्बा ‘मनोज’–ले जानकारी दिनुभयो ।
अहिले मैदानमा कालोपत्र गरी अन्तिम रूप दिने गरी काम भइरहेको र दर्शकका लागि बाँसे प्यारापिट निर्माण कार्यलाई पनि तीव्रता दिइएको उहाँले जानकारी दिनुभयो । दर्शकका लागि प्राकृतिक प्यारापिटको पनि व्यवस्था रहेको उहाँको भनाइ छ ।
यसैगरी, क्रिकेटको प्राविधिक विषयहरूमा पनि काम भइरहेको वडाध्यक्ष सुब्बाले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागी टिमहरूको यसअघि नै टुङ्गो लागिसकेको बताइएको छ । भारतका ४ र नेपालका ४ टिमको सहभागिता रहनेछ । ती टिमलाई दुई वटा समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ ।
आयोजना नजिकिँदै गर्दा प्रतियोगिताप्रति क्रिकेटप्रेमीहरुको चासो पनि बढ्दै गएको भद्रपुर क्रिकेट क्लबका महासचिव वसन्त पोखरेलले बताउनुभयो ।
उहाँले विभिन्न माध्यमबाट प्रतियोगिताको प्रचार–प्रसारलाई पनि तीव्रताका साथ अघि बढाइएको जानकारी दिनुभयो ।
प्रतियोगितालाई विभिन्न क्षेत्रबाट विभिन्न किसिमका सहयोग भइरहेको पनि आयोजकले जनाएको छ ।
आयोजक भद्रपुर क्रिकेट क्लबका अध्यक्ष आदित्य पराजुलीले कोसी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षसमेतलाई जोडेर यो प्रतियोगिता आयोजना गरिएको बताउनुभएको छ ।
प्रतियोगितामा नेपालका तर्फबाट आयोजक भद्रपुर क्रिकेट क्लब, काठमाडौँ, सुदूरपश्चिम र गण्डकी तथा भारतका तर्फबाट दिल्ली, लखनउ, आसाम र सिक्किमले सहभागिता सुनिश्चित भएको आयोजकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्