तपाईँ सुन्दै हुनुहुन्छः

खाद्यद्वारा मधेशका किसानको ९ हजार १ सय २० क्विन्टल धान खरिद

वीरगंज । किसानहरूसँग गत पुस ६ देखि धान खरिद सुरु गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले आज बिहीबार सम्ममा ९ हजार १ सय २० क्विन्टल धान खरिद गरेको छ ।

शाखाले यस वर्षदेखि टोकन प्रणालीबाट किसानको धान खरिद गर्न थालेको हो । यो प्रणालीले कार्यालय र किसान दुबैलाई सहज भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्जका प्रमुख पंकज कुमार झाले बताउनुभयो ।

यसअघि  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानलाई प्रतिव्यक्ति ४० क्विन्टल धान खरिदको दरले टोकन वितरण गरिसकेकाले किसानले आफ्नो पालो परेको दिनमात्र धान बिक्री गर्न ल्याइरहेकाले अघिल्ला वर्षको जस्तो भीड नभई व्यवस्थित ढङ्गबाट खरिदबिक्री भइरहेको उहाँले बताउनुभयो ।

धान खरिद गर्नुअघि कार्यालयबाट गत पुस १ गते देखी ५ गते सम्म १ सय ७० वटा टोकन वितरण गरिएको थियो । 

टोकन पाएका किसानबाट लक्ष्य अनुरुप धान आई रहेको र नआए प्रतीक्षा सूचीमा रहेका किसानबाट खरिद गरिने झाले बताउनुभयो ।

हालसम्म पर्सा, बारा र रौतहट र सर्लाही जिल्लाबाट समेत किसानले धान बिक्रीका लागि ल्याइरहेका छन् । वीरगन्ज शाखाबाट सर्लाहीका किसानले पनि टोकन लगेका थिए ।

यस वर्ष शाखाले १० हजार क्विन्टल धान खरिदको कोटा पाएको छ । टोकन लगेका किसानबाटै घोषित परिमाणको धान खरिद हुने सम्भावना रहेको झाले बताउनुभयो । यस वर्ष पनि शाखाले सोना मन्सुली धान मात्र खरिद गरिरहेको छ । सोना मन्सुली धानको समर्थन मूल्य संघीय सरकारले यस वर्ष प्रतिक्विन्टल ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा निर्धारण गरेकाले शाखाले पनि सोही मूल्यमा खरिद गरिरहेको छ ।

गत वर्ष शाखाले ४२ हजार क्विन्टल धान खरिदको कोटा पाएको थियो । तर निजी क्षेत्रबाटै राम्रो मूल्य पाएपछि शाखामा लक्षित परिमाणमा धान बिक्री गर्न किसान आएनन् तर यस वर्ष व्यापारीले धानको मूल्य नबढाउँदै खाद्यले धान खरिद सुरु गरेकाले किसानले धान खाद्यलाई नै बिक्री गर्न ल्याएका छन् । 

विभिन्न चाडपर्व र निर्वाचनले गर्दा टोकन लगेका किसानहरुले धान ल्याउन ढिलाई गरेको कारण धान खरिद प्रक्रिया जारी रहेको झाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button