तपाईँ सुन्दै हुनुहुन्छः

टाइगर कप भलिबल : एपीएफविरुद्ध पुलिसको सहज जित

पोखरा । छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप अन्तर्गत महिलातर्फ सशस्त्र प्रहरी बलको (एपीएफ) क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले सहज जित हात पारेको छ । 

पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको पहिलो खेलमा पुलिसले एपीएफलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । जितसँगै पुलिसको फाइनल पुग्ने सम्भावना कायमै राखेको छ । पुलिसले पहिलो सेट २५–१६, दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्यो । पुलिसकी मिना सुनार प्लेयर अफ द म्याच घोषित हुनुभयो ।

४ खेलबाट ७ अंक जोड्दै पुलिस दोस्रो स्थानमा उग्लिएको छ । पराजित भएको एपीएफ प्रतियोगिताबाट बाहिरिएको छ । एपीएफले ४ खेलबाट ५ अंक जोड्यो । ३ खेलबाट ९ अंक जोड्दै न्यू डायमन्ड स्पोट्स क्लबले फाइनलमा स्थान बनाइसकेको छ । थाइल्याण्ड क्विन्स ३ खेलबाट ६ अंक जोड्दै तेस्रो स्थानमा छ । त्रिभुवन आर्मी क्लब ४ खेलबाट जितविहीन रहँदै बाहिरिइसकेको छ । बुधबार बिहानदेखि पानी परेका कारण आन्तरिक व्यवस्थापनसहित पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा खेल सञ्चालन भएको टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले बताउनुभयो ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिङ्गल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् । महिलातर्फको फाइनल खेल माघ १६ गते र पुरुषतर्फको फाइनल खेल माघ १७ गते हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button