महिला उद्यमीले उत्पादन गरेका वस्तुको प्रदर्शनी मेला सुरु
नेपालगञ्ज । दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आजदेखि नेपालगञ्जमा सुरु भएको छ । महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा सुरु भएको प्रदर्शनी माघ १८ गतेसम्म सञ्चालन हुनेछ । मेलाको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभयो । महिला उद्यमीहरूले उत्पादन गरेका वस्तु तथा सामग्रीको बजारीकरण, प्रचार–प्रसार र प्रवद्र्धन गर्ने लक्ष्यसहित महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष नेपालगञ्जमा प्रदर्शनीको आयोजना गर्दै आएको छ ।

महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष रेवती सिंहको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा नगर प्रमुख विष्टले महिलाहरूलाई उद्यमशीलतातर्फ आकर्षित गर्न प्रदर्शनी मेला महत्वपूर्ण सावित हुँदै गएको बताउनुभयो । महिला उद्यमी संघ नेपालका अध्यक्ष दर्शना श्रेष्ठले बाँकेले उत्कृष्ट काम गर्दै आइरहेको बताउनुभयो । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, केएल दुगद ग्रुप नेपालगन्जका सिइओ प्रदीप छाछेड लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेलाको १०औँ संस्करण नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित बागेश्वरी मन्दिर परिसरको पार्कमा सञ्चालन भइरहेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोग र केएल दुगद ग्रुपको मुख्य प्रायोजन रहेको प्रदर्शनीमा ७५ वटा स्टल रहेको प्रदर्शनी संयोजक एवम् महिला उद्यमी संघ नेपाल बाँकेको प्रथम उपाध्यक्ष आभा गौतमले बताउनुभयो । प्रदर्शनीमा कृषिजन्य सामग्री, हस्तकला सामग्री, खाद्य सामग्री, अल्लो तथा ढाकाका कपडाहरू, फ्लोरी कल्चर, रैथाने उत्पादन, खाना तथा खाजाका परिकार, शृङ्गार तथा गर–गहना लगायतका सामग्री तथा वस्तुहरू बिक्री वितरण र प्रचारप्रसारको लागि राखिने महिला उद्यमी संघ नेपाल बाँके महासचिव बिन्दु चर्तिमगरले बताउनुभयो ।
करिब ६ लाख रुपैयाँ बजेट रहेको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी अवलोकन गर्नको लागि निःशुल्क व्यवस्था गरिएको छ । प्रदर्शनीले नव(आगन्तुक उद्यमीहरूलाई सिक्ने अवसर दिइरहेको महिला उद्यमी महासङ्घ नेपालको केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश अध्यक्ष सरस्वती शर्माले बताउनुभयो । महिला उद्यमी संघ नेपाल बाँकेकी निवर्तमान अध्यक्ष सावित्रा पोखरेल बस्नेतले प्रदर्शनीले हरेक वर्ष नयाँ उद्यमी उत्पादन गरिरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्