वीरगञ्ज नाका हुँदै ६ महिनामा ११ अर्ब ५७ करोड बढीको खाद्यान्न आयात
गत वर्षको तुलनामा यसवर्ष खाद्यान्न आयात घट्यो
वीरगञ्ज । मुलुकको प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार (आईसिपी) हुँदै आर्थिक वर्ष २०८२/०८३ को ६ महिनामा ११ अर्ब ५७ करोड १४ लाख २७ हजार मूल्य बराबरको धान, चामल, मकै, कोदो लगायतका खाद्यान्न भित्रिएको छ ।

वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१/०८२ को ६ महिनामा ११ अर्ब ९६ करोड ४४ लाख १७ हजार मूल्य बराबरको धान, चामल, मकै, कोदो लगायतका खाद्यान्न आयात भएको छ । गत वर्षको तुलनामा यस आर्थिक वर्षको ६ महिनामा ३९ करोडको कम खाद्यान्न आयात भएको तथ्याङ्कमा उल्लेख छ ।
वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०८२÷०८३ को ६ महिनामा ५ अर्ब ६८ करोड २२ लाख ४९ हजार मूल्य बराबरको धान भित्रिएको छ भने सो अवधिमा १ अर्ब ६१ करोड ५२ लाख ५६ हजार मूल्य बराबरको चामल भित्रिएको छ ।
त्यसैगरी वीरगञ्ज भन्सार आईसिपी नाकाबाट साउन, भदौ, असोज, कार्तिक, मङ्सिर र पुष महिनामा गरी ३ अर्ब ४१ करोड २४ लाख ७७ हजार मूल्य बराबरको मकै भित्रिएको वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । यसैगरी वीरगञ्ज नाकाबाट फापर, कोदोको पिठो, माल्ट, गुल्टेन लगायतका खाद्यान्न ७२ करोड ६८ लाख ४२ हजार मूल्य बराबरको भित्रिएको छ ।
धान चामल, मकै, गहुँ, कोदो, फापर लगायतका खाद्य सामग्रीको आयातबाट ६ महिनामा वीरगञ्ज भन्सारले ७३ करोड ५४ लाख ६८ हजार राजस्व असुली गरेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो ।
गत वर्ष २०८१/०८२ को ६ महिनाको अवधिमा धान, चामल, मकै, फापर कोदो तथा गहुँ लगायतका खाद्यान्न आयात गरी वीरगञ्ज भन्सारले १ अर्ब ६ करोड २० लाख २७ हजार राजश्व असुली गरेको प्रमुख भन्सार प्रशासक मैनालीले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्