काठमाडौँका नौ निर्वाचन क्षेत्रमा महिला निर्वाचन अधिकृतको नेतृत्व
काठमाडौँ। प्रत्यक्ष निर्वाचनका लागि राजनीतिक दलहरूले महिला उम्मेदवारलाई खासै प्राथमिकता नदिए पनि निर्वाचन गराउने मुख्य संस्था निर्वाचन आयोगले भने निर्वाचन गराउने ठाउँमा महिलालाई उच्च प्राथमिकता दिएर परिचालन गरेको छ।

सङ्घीय राजधानी काठमाडौँको दस वटा निर्वाचन क्षेत्रमध्ये नौ वटा निर्वाचन क्षेत्रको कमान्ड महिला निर्वाचन अधिकृतको हातमा छ । काठमाडौँ क्षेत्र नम्बर एकबाहेक क्षेत्र न-२ देखि क्षेत्र न-१० सम्म निर्वाचन अधिकृतका रूपमा महिला कर्मचारी खटाइएको छ । सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको काठमाडौँमा निर्वाचन गराउने सन्दर्भमा विभिन्न चुनौतीहरू सामना गर्नुपर्ने हुन्छ। निर्वाचन क्षेत्रमा आउने चुनौतीको सामना गरी उचित व्यवस्थापनसहित भयरहित वातावरणमा स्वच्छ र स्वतन्त्र निर्वाचन गराउन निर्वाचन अधिकृतको प्रमुख भूमिका रहने गर्दछ ।
काठमाडौँ क्षेत्र नम्बर-५ मा निर्वाचन अधिकृतको भूमिकामा खटिनुभएको छ कानुन मन्त्रालयकी उपसचिव श्रद्धा रिजाल । उहाँ महिला भएका कारण अविश्वास भन्दा पनि सबैले सम्मान गर्ने गरेको बताउनुहुन्छ । निर्वाचन क्षेत्रको व्यवस्थापनका क्रममा कुनै विभेद भोग्न नपरेको अनुभव उहाँसँग छ । त्यसै गरी काठमाडौँ क्षेत्र न-१० मा निर्वाचन अधिकृतका रूपमा काम गरिरहनुभएकी अमृताकुमारी शर्मा सर्वोच्च अदालतकी उपरजिष्टार हुनुहुन्छ । उहाँसँग पनि स्थानीय तहको निर्वाचन गराएको अनुभव छ । निर्वाचन क्षेत्रको व्यवस्थापनमा जुटिरहनुभएकी अमृता शर्मा आयोगले दिएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने प्रतिबद्धता जनाउनुहुन्छ । त्यस्तै काठमाडौँ क्षेत्र न-२ मा खटिनुभएकी निर्वाचन अधिकृत शान्ति न्यौपाने महान्यायधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ताका रूपमा कार्यरत हुनुहुन्छ ।
उहाँ निर्वाचन अधिकृत रहनुभएको क्षेत्रभित्र पने एक सय मतदान केन्द्र र ४० वटा मतदान स्थलको कुशल व्यवस्थापन भइरहेको बताउनुहुन्छ । महिलालाई सकेसम्म जिम्मेवारी नै नदिने दिए पनि कार्यक्षमतामाथि प्रश्न उठाउने समाजकाबीच महिला निर्वाचन अधिकृतहरूले काठमाडौँको नौ वटा निर्वाचन क्षेत्रको नेतृत्व गरिरहेका छन् । त्यसै गरी काठमाडौँ क्षेत्र न-३ मा चमिला भट्टराई, काठमाडौँ क्षेत्र ६ मा चपला पोखरेल, क्षेत्र न-७ मा सविता शर्मा र क्षेत्र न-४ मा कृष्णा भण्डारीले निर्वाचन अधिकृतका रूपमा जिम्मेवारी वहन गरिरहनुभएको छ । त्यसै गरी काठमाडौँ क्षेत्र न-८ मा सम्झना खनाल र क्षेत्र न-९ मा मनुका घिमिरे निर्वाचन अधिकृतका रूपमा रहनुभएको छ
जनताको प्रतिनिधि चुन्ने प्रक्रिया हो आम निर्वाचन। निर्वाचन गराउने प्रक्रियामा महिला कर्मचारीलाई अवसर प्राप्त हुनु सुखद पक्ष हो । कुनै बेला दोस्रो दर्जाको नागरिकका रूपमा हेरिने महिलालाई निर्वाचन आयोगले दिएको यो अवसर अवसर पाए महिला तोकिएको जिम्मेवारी पूरा गर्न सक्षम छन् भनेर देखाउने अवसर पनि हो ।






प्रतिक्रिया राख्नुहोस्