‘सहिदभूमिकाे सेरोफेरो’ रेडियो कार्यक्रम आजदेखि साप्ताहिक प्रसारण हुने
धनकुटा। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय धनकुटाबाट “सहिदभुमिको सेरोफेरो” रेडियो कार्यक्रम आजबाट प्रसारण हुने भएको छ।
सहिदभूमि गाउँपालिका धनकुटाका अध्यक्ष मनोज राईले पालिकाको समृद्धिको लागि तय भएका योजना तथा कार्यक्रमहरूको कार्यान्वयनका साथै पालिकावासीमा सचेतना फैलाउन कार्यक्रमले प्रभावकारी भूमिका निर्वाह गर्दै आएकोले कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो । उहाँले सहिदभूमिको सेरोफेरो कार्यक्रममा पालिकाले सञ्चालन गरेका विकास निर्माणका क्रियाकलापहरूसँगै जनताका गुनासाहरू पनि प्राप्त हुने भएकाले ती गुनासाहरूलाई सम्बोधन गर्दै जाने आफ्नो योजना रहेको पनि बताउनुभयो ।
सहिदभूमि गाउँपालिका, धनकुटाका प्रमुख प्रशासकीय अधिकृत सूर्य बहादुर भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुहुँदै पालिकाको सेवा प्रवाह र योजना कार्यान्वयनमा सहिदभूमि सेरोफेरो कार्यक्रमले जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय जनता बीच सहजीकरण गर्दै आएको बताउनुभयो। सो अवसरमा रेडियो नेपाल धनकुटाका प्रमुख तिलविक्रम चेम्जोङले सहिदभूमिको सेरोफेरोमा स्थानीय नागरिकको समृद्धिको लागि पालिकाले तयार गरेको योजना तथा कार्यक्रम र कार्यान्वयनको सन्दर्भमा सम्बद्ध पक्षसँग गरिएका कुराकानी, विकास निर्माणमा स्थानीयको चाहना र भावनालाई समेटेर तयार पारिएको रेडियो रिपोर्ट, गाउँपालिका तथा वडा स्तरीय गतिविधिहरू लगायतका सामाग्री समावेश गरी कार्यक्रमको उत्पादन र प्रसारण गरिने बताउनुभयो ।
रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाबाट साप्ताहिक रूपमा प्रत्येक बुधवार अपराह्न ४:३० बजे देखि ४:४५ बजेसम्म १५ मिनेटको कार्यक्रम प्रसारण हुनेछ । कार्यक्रम उत्पादन गर्नको लागि सहिदभुमि गाउँपालिकाका प्रशासन तथा योजना शाखाका प्रमुख होम बहादुर थापालाई फोकल पर्सनका रूपमा भूमिका निर्वाह गर्नु हुनेछ भने रेडियो नेपाल धनकुटाका सम्पादक सुखकुमारी राईले कार्यक्रमको संयोजन गर्नु हुने कार्यालय प्रमुख तिलबिक्रम चेम्जोङले बताउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्