तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा ६१ मतदान स्थल अति संवेदनशील

नेपालगञ्ज। बाँकेमा ६१ वटा मतदान स्थललाई अति संवेदनशील मानिएको छ।

कुल १३९ मतदान स्थलमध्ये ५० वटा संवेदनशील तथा २८ वटालाई सामान्य मतदान स्थल तोकिएको छ । जिल्ला सुरक्षा समितिले यसैलाई मुख्य आधार बनाएर निर्वाचनलक्षित विशेष सुरक्षा रणनीति तयार पारेको छ । 

बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले भौगोलिक अवस्था, खुला सिमाना र अन्य विभिन्न कारणले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी मतदान स्थललाई संवेदनशील र अति संवेदनशीलमा विभाजन गरिएको बताउनुभयो । 

जिल्लामा ४०० मतदान केन्द्र कायम गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगु जिसीले निर्वाचनलाई मर्यादित र भयरहित तरिकाले सम्पन्न गर्नका लागि कडा सुरक्षा व्यवस्था गरिने बताउनुभयो ।

जिल्ला निर्वाचन अधिकारी टेक बहादुर शाहीका अनुसार बाँकेको निर्वाचन क्षेत्र नम्बर १ मा कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका तथा नरैनापुर गाउँपालिका अन्तर्गत सबै ३० वडा समावेश छन् । यस क्षेत्रमा कूल १ लाख २४ हजार ७२७ मतदाता रहेका छन् । निर्वाचन क्षेत्र नम्बर–१ मा ४८ वटा मतदान स्थलसहित १४१ मतदान केन्द्र निर्धारण गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका २१ र डुडुवा गाउँपालिकाका सबै ६ गरी २७ वडा रहेका क्षेत्र नम्बर २ मा ५७ हजार ११७ जना पुरुष, ५१ हजार १६७ जना महिला र ६ जना अन्यसहित कूल १ लाख आठ हजार २९० मतदाता रहेका छन् । मतदान प्रक्रियालाई सहज र व्यवस्थित तुल्याउन ४३ वटा मतदानस्थलसहित १२४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

यसैगरी नेपालगञ्ज उपमहानगरपालिकाका १६ र १७ वडा, जानकी गाउँपालिकाका सबै ६, खजुरा गाउँपालिका सबै ८ र बैजनाथ गाउँपालिकाका सबै ८ गरी २४ वडा समेटिएको निर्वाचन क्षेत्र नम्बर–३ मा ५८ हजार ६६४ जना पुरुष र ५८ हजार ६८९ जना महिला गरी कूल १ लाख १७ हजार ३५४ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी शाहीले जानकारी दिनुभयो । बाँकेमा तीन निर्वाचन क्षेत्रमा ५६ जना उम्मेदवार छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button