तपाईँ सुन्दै हुनुहुन्छः

‘बदलिएनन् मतदाताका माग र उम्मेदवारका आश्वासन’

बाजुरा। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाजुरामा उम्मेदवारहरू मतदाता भेट्न घरदैलो कार्यक्रममा व्यस्त रहेका छन्। 

गाउँ–टोल पुगेर मत मागिरहेका उम्मेदवार र मतदाताबीच यसपटक पनि अघिल्ला निर्वाचनकै जस्तै दृश्य देखिएको छ। मतदाताका माग र उम्मेदवारका आश्वासन दुवैमा खासै नयाँपन नदेखिएको स्थानीयको भनाइ छ।  

घरदैलोका क्रममा मतदाताले खानेपानी, विद्युत्, सडक र पुल निर्माणजस्ता पुरानै माग दोहोर्‍याइरहेका छन्। त्यस्तै उम्मेदवारहरूले पनि ती माग पूरा गर्ने, विकास र समृद्धि ल्याउने भन्दै अघिल्ला चुनावमा जस्तै पुरानै प्रतिबद्धता दोहोर्‍याइरहेका छन्। मतदाताले नयाँ खालका योजना वा एजेन्डा अघि सारेको देखिँदैन भने उम्मेदवारहरूबाट पनि नयाँ नीति तथा कार्यक्रम सार्वजनिक हुन सकेका छैनन्।

यद्यपि, केही सचेत मतदाता भने यसपटक फरक मनस्थितिमा देखिएका छन्। उहाँहरू अघिल्ला निर्वाचनमा उम्मेदवार र राजनीतिक दलहरूले गरेका प्रतिबद्धता कति पूरा भए भन्ने विषयमा मूल्याङ्कन गरेर मात्रै मत हाल्ने तयारीमा रहेका देखिन्छन्। “बाचा धेरै भए, काम थोरै भए” भन्दै यसपटक परिणाम हेरेर निर्णय गर्ने उहाँहरूको भनाइ छ।

प्रतिनिधिसभा निर्वाचनका लागि बाजुरामा स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हेमराज थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केशर बहादुर शाही, नेकपा एमालेबाट लाल बहादुर थापा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दीपक कुमार डी.सी., नेपाली कम्युनिस्ट पार्टीबाट प्रकाश बहादुर शाह, नेपाली काँग्रेसबाट जनक गिरी तथा नेकपा माओवादी पार्टीबाट भुपेन्द्र ल्वार उम्मेदवारका रूपमा मैदानमा छन्। सबै उम्मेदवार आ–आफ्नो पक्षमा मत माग्दै गाउँगाउँमा घरदैलो कार्यक्रममा सक्रिय रहेका छन्।

बाजुरामा चुनाव नजिकिँदै जाँदा पुरानै माग र पुरानै आश्वासन दोहोरिनुले मतदातामा मिश्रित प्रतिक्रिया देखिएको छ। अब मतदाताले आश्वासनभन्दा काम हेरेर निर्णय गर्ने कि फेरि पुरानै आश्वासनमा विश्वास गर्ने भन्ने विषय चुनावी परिणामले स्पष्ट पार्ने देखिन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button