नेपाल प्रहरी गण्डकी प्रदेश २६ औँ आदर्श कपको फाइनलमा
पोखरा । नेपाल प्रहरी गण्डकी प्रदेशको टोली २६ औँ आदर्श कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कास्कीको लेखनाथमा माघ ९ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगिता अन्तर्गत मङ्गलवार सम्पन्न सेमिफाइनल खेलमा तनहुँ जिल्ला फुटबल विकास समितिलाई १–० गोलले पराजित गर्दै प्रहरीले फाइनल यात्रा तय गरेको हो ।
नेपाल प्रहरी गण्डकी प्रदेशका जर्सी नम्बर १० का खेलाडी विवेक गुरुङले खेलको ३०औँ मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो ।
मङ्गलवारको खेलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाल प्रहरीका जर्सी नम्बर ४४ का खेलाडी रोजल दाहाल ‘म्यान अफ द म्याच’ घोषित हुँदै नगद पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भए ।
अब नेपाल प्रहरी गण्डकी प्रदेशको टोली माघ १६ गते हुने फाइनल खेलमा होराइजन क्लब स्याङ्जा र जिल्ला खेलकुद विकास समिति म्याग्दीबीच बुधबार हुने खेलको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
आयोजकका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद रु. ४ लाख ९९ हजार ९ सय ९९ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद रु. ३ लाख ३३ हजार ३ सय ३३ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।








प्रतिक्रिया राख्नुहोस्