तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन आयोगद्वारा नीजि क्षेत्रका छाता संस्थाहरूसँग अन्तरक्रिया 

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गत भदौ २३ र २४ गतेको आन्दोलनबाट असहज र अन्योलको अवस्थामा रहेको मुलुकलाई लयमा फर्काउन निर्वाचन नै अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभएको छ ।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले आज निर्वाचन आयोगको कार्यालयमा नीजि क्षेत्रका छाता संस्थाहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आयोगले सबै दलका नेता, आन्दोलनकारी र समाजका अगुवासँग पटक पटक छलफल र संवाद गरेर नै निर्वाचनको मिति घोषणा गरेको जानकारी गराउनुभयो ।

मुलुक बङ्गलादेशको जस्तो स्थितिमा गुज्रिनु नपरोस् र मुलुकलाई अनुशासनमा राख्न र लयमा फर्काउन सबै पक्षले निर्वाचनलाई सहयोग गरेको पनि उहाँले बताउनुभयो ।

निर्वाचन आयोगका सचिव कृष्ण बहादुर राउतले नीजि क्षेत्रले निर्वाचन आचार संहिता पालनामा सहयोग गरिदिन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले निर्वाचन आचार संहिताको पूर्ण पालना गराउन अनुगमनमा कडाइ गर्नुपर्ने र आचारसंहिता उल्लङ्घन भएको पाइएमा तत्काल कारबाहीको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभएको छ ।

उद्योग क्षेत्रलाई व्यवस्थित निष्पक्ष र लगानीमैत्री बनाउन स्पष्ट सीमा र पारदर्शी लेखा प्रणाली आवश्यक भएको उहाँले धारणा राख्नुभयो ।

निर्वाचन आचारसंहिता पालना र मतदाता शिक्षाको लागि उद्योग क्षेत्रबाट आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको पनि उहाँले जानकारी गराउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नीजि क्षेत्रमा लगानीमैत्री वातावरण सिर्जना गर्नको लागि नीतिगत स्पष्टता र राजनीतिक स्थायित्व आवश्यक भएकाले यो निर्वाचन सम्पन्न भई स्थिर सरकार आवश्यक भएको धारणा राख्नुभयो ।

निर्वाचनमा उम्मेदवारहरूले खर्च विवरण दिँदा पारदर्शी रुपमा बैङ्कबाट नै कारोबार भएको देखाउनु पर्ने उहाँले उल्लेख गर्नुभयो ।

साथै उहाँले नेपाल उद्योग वाणिज्य सङ्घको केन्द्र र सबै शाखाहरूबाट पनि निर्वाचन आचारसंहिता र मतदाता शिक्षा सम्बन्धी विषयमा आयोगलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेश प्रसाद सिंहले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

मतदाता शिक्षामा आयोगले अझ ध्यान दिनुपर्ने सुझाव दिँदै उहाँले त्यसकालागि आयोगलाई आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभयो ।

बदलिँदो परिस्थतीमा निर्वाचन हुन्छ हुँदैन भन्ने अन्योलका बिच निर्वाचन हुन्छ भनी निर्वाचन आयोगले कार्य अगाडि बढाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

होटल संघ नेपालका अध्यक्ष विनायक शाहले निर्वाचनको समयमा हवाई तथा स्थल मार्गबाट नेपाल भित्रने पर्यटकलाई होटल तथा गन्तव्यसम्म पुग्नको लागि सहज वातावरणका सहयोग गर्न आयोगलाई आग्रह गर्नुभयो ।

गत भदौ २३ र २४ गते भएको आन्दोलनपछि अन्तर्राष्ट्रिय जगतमा नै नेपालमा शान्ति पूर्ण रुपमा निर्वाचन हुन सक्दैन भन्ने भ्रम रहेको भन्दै उहाँले त्यस्तो किसिमका भ्रमलाई गलत साबित गर्नको लागि पनि निर्वाचनको समयमा आउने पर्यटकको उचित व्यवस्थापन आवश्यक रहेको र त्यसतर्फ आयोगले पनि आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो ।

साथै उहाँले निर्वाचनको समयमा आवश्यक सहयोग र समन्वय गर्न आफूहरू तयार रहेको पनि जानकारी गराउनुभयो ।

रेस्टुरेन्ट तथा वार एसोसिएसन अफ नेपाल ‍REBAN का अध्यक्ष सङ्घर्ष विष्टले निर्वाचन आचारसंहिता र मतदाता शिक्षाका विषयमा आयोगलाई आवश्यक सहयोग गर्न आफ्नो संस्था तयार रहेको बताउनुभयो ।

ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल टानका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेडाइले निर्वाचनको समयमा नेपाल आउने पर्यटकलाई व्यवस्थापन गर्न निर्वाचन आयोगको अनुमति लिनुपर्ने ठाउँमा उक्त अनुमति दिन आग्रह गर्नुभयो ।

निर्वाचन सम्बन्धी सकारात्मक सूचना विश्व बजारमा पुर्‍याउन पर्यटन व्यवस्थापन अति आवश्यक भएको उहाँले उल्लेख गर्नुभयो ।

साथै निर्वाचन आचार संहिता पालनामा आफ्नो सस्थाको फेसबुक वेबसाइट मार्फत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

साल्ट ट्रेडिङका महाप्रबन्धक उर्मिला श्रेष्ठले निर्वाचन प्रचार प्रसारमा राष्ट्रिय झण्डा प्रयोग भएको र समुदायलाई असर हुनेगरी ध्वनि प्रदूषण भएको विषयप्रति आयोगको ध्यानाकर्षण गराउनुभयो ।

साथै निर्वाचन आचारसंहिता पालना लगायत निर्वाचन सँग सम्बन्धित विषयमा सम्पूर्ण जिल्ला कार्यालय र वेबसाइट मार्फत सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

नेपाल उद्योग परिसंघका महानिर्देशक घनश्याम भुषालले सातै प्रदेश र जिल्लामा निर्वाचन आचारसंहिताबारे जानकारी गराउने र आचारसंहिता कार्यान्वयनमा निर्वाचन आयोगलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

महिला उद्यमी महासङ्घका मल्लिका श्रेष्ठले मतपत्रको नमुना निकाल्न राजनीतिक दललाई दिँदा राजनीतिक दलहरूले आफ्नो निर्वाचन चिन्हमा छाप लगाएको मतपत्र मतदाता समक्ष देखाउने गरेको जसको कारण केही मतदाता अन्योलमा समेत पर्ने गरेकाले आयोगले नै मतपत्रको नमूना निकाल्नु पर्ने सुझाव दिनुभयो ।

साथै निर्वाचनको समयमा महिला उद्यमीले उत्पादन गरेका सामग्री प्रयोग गर्न आग्रह गर्नुभयो ।उहाँले महिलाहरूको लागि निर्वाचन सम्बन्धी चेतनामूलक कार्यक्रम आवश्यक रहेको पनि बताउनुभयो । 

कार्यक्रममा निर्वाचन आयुक्तहरू सगुन शमशेर जबरा, जानकी कुमारी तुलाधर, आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराई सहितका व्यक्तित्वहरू उपस्थित हुनुहुन्थ्यो ।

नीजि क्षेत्रका अध्यक्ष एवम् प्रतीनिधीहरुको सुझावपछि आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले कसैले पनि निषेधको राजनीति नगर्न आग्रह गर्नुहुँदै आचार संहिता पालनामा आयोग पूर्ण रुपमा प्रतिबद्ध रहेको जानकारी गराउनुभयो ।

उहाँले निर्वाचनको मिति घोषणा भएको दिनदेखि नै नेपालमा उत्पादित सामग्री मात्र निर्वाचनको लागि प्रयोग गरिएको र त्यसमा पनि ३७ प्रकारका सामग्री स्थानीय स्तरकै रहेको उहाँहरूलाई जानकारी गराउनुभयो ।

निर्वाचनको लागि ६ करोड ७५ लाख रुपैयाँको सामान मात्र नयाँ खरिद गरिएको अन्य पुरानै सामग्री पुन प्रयोगमा ल्याइएको समेत उहाँले जानकारी गराउनुभयो ।

निर्वाचनलाई मितव्ययी रुपमा कम खर्चिलो बनाउन धेरै सामग्री पुरानै प्रयोगमा ल्याइएको उहाँको भनाइ छ ।

कार्यक्रममा निर्वाचन आयोगका सहसचिव ज्ञानहरि निरौलाले निर्वाचन प्रक्रियाका केही महत्वपूर्ण विषयहरू जस्तै मतदाता नामावली, मतदान स्थल र मतदान केन्द्र, मतदाता शिक्षा, निर्वाचन सूचना सम्प्रेषण र समन्वय, निर्वाचन पर्यवेक्षण, स्वतन्त्र र निष्पक्ष निर्वाचनका अन्तर्राष्ट्रिय मान्यता, निर्वाचन आचार संहिता, आचारसंहिता उल्लङ्घन भएमा हुने कारबाही बारे जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button