तपाईँ सुन्दै हुनुहुन्छः

हिमपातले अवरुद्ध नाग्म–गमगढी सडक खुल्यो

जुम्ला I हिमपातले अवरुद्ध रारा ताल जाने पर्यटकीय माग नाग्म–गमगढी सडक सञ्चालनमा आएको छ । 

कर्णालीमा शुक्रबार राती देखी भएको हिमपातले अवरुद्ध भएको नाग्म–गमगढी सडक चार दिनपछि सञ्चालनमा आएको हो । 

सडक डिभिजन कार्यालय जुम्लाले डोजर लगाएर नाग्म गमगढी सडक खुलाएको छ । नाग्म गमगढी सडक खण्डको सातमाड क्षेत्रमा डेढ फिट भन्दा धेरै हिउँ जमेको थियो । जसले साना ठूला सवारीसाधन आवतजावतमा कठिनाइ थियो । मुगु हुँदै सुर्खेत नेपालगन्ज जाने यात्रु तथा पर्यटकहरू रोकिएका थिए । 

सडक डिभिजन जुम्लाले डोजर प्रयोग गरेर हिउँ पन्छाएपछि सडक निर्बाध रुपमा सञ्चालनमा आएको सडक डिभिजन जुम्लाका प्रमुख श्रवण कुमार महताराले बताउनुभयो । 

भारी हिमपातले नाग्म–गमगढी सडकको झण्डै ३ किलोमिटर सडक ठप्प भएको थियो । उहाँले भन्नुभयो,‘सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामानको पनि आयात रोकिएको थियो भने दैनिक आवतजावत पनि ठप्प थियो । मौसममा सुधार आएपछि डोजरबाट हिउँ पन्छाएर अवरुद्ध खुलाइएको छ ।’

जिल्ला प्रशासन कार्यालय मुगुले जुम्लाबाट डोजर माग गरेर पहिरो पन्छाएको हो । पाटन क्षेत्रमा पर्ने उक्त सडक खण्डमा हरेक वर्ष हिमपात भएकी अवरुद्ध हुने गर्छ । सडक डिभिजन कार्यालयले माघ ११ गते आंशिक रुपमा सडक खुलेपछि १२ गतेदेखि पूर्ण रुपमा सडक खुलेको जानकारी दिएको छ । सडक यातायात खुलेसँगै सडक पूर्णरुपमा सुचारु भएको समेत सडक डिभिजन कार्यालयको भनाइ छ । 

यता यात्रुहरूले भने हिउँ पर्ने समय सम्मका लागि दुवै तर्फ डोजर तयारी अवस्थामा राख्न माग गरेका छन् । मौसमको अवस्थालाई मध्यनजर गरी नाग्म–गमगढी सडकमा जनशक्ति तथा डोजर अनिवार्य राख्न समेत अनुरोध गरेका छन् । यता सडक डिभिजनले यात्रुको मागलाई मध्यनजर गरी सम्भावित क्षेत्रमा आवश्यक तैनाथ गरिएको बताएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button