तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री कार्कीद्वारा सुशासन र असल अभ्यासमा जोड

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन र असल अभ्यासमा जोड दिनुपर्ने बताउनुभएको छ । 

कोशी सहयोग कार्यक्रम निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले स्विस सरकारको सहयोगमा सञ्चालित सो कार्यक्रमलाई छरितो ढङ्गले टुङ्ग्याउनुपर्ने बताउनुभयो । 

बैठकमा उहाँले कार्यविधि र अरू प्रक्रियाहरू चाँडो सकेर कामलाई द्रुत गतिमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको थियो । स्विस सरकारसँग नेपालको सम्बन्ध सात दशक लामो भएको चर्चा गर्दै उहाँले स्विस सरकारको सहयोगको प्रशंसा गर्नुभयो ।

बैठकमा स्विस सरकार विकास सहयोग कार्यक्रमअन्तर्गत सञ्चालित कार्यक्रमहरूको समीक्षा र प्रगतिका साथै आगामी दिनमा गर्न सकिने कार्यक्रमका बारेमा छलफल भएको थियो । यस कार्यक्रमअन्तर्गत करिब रु आठ करोड बराबरको कम्प्युटर प्रिन्टर लगायतका सामग्री स्थानीय तहमा हस्तान्तरण गरी जेनजी आन्दोलनपछि वडा कार्यालयहरू सञ्चालन गर्न सहयोग पुर्‍याइएको छ । 

यस कार्यक्रमले सङ्घीयता कार्यान्वयन र सुशासनमा सहयोग गर्दै आएको छ भने प्रदेशमा कानुन निर्माणमा समेत यसले सहयोग गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button