टाइगर कप भलिबल : पर्वत भलिबल संघ र पुलिस विजयी
पोखरा । पर्वत भलिबल संघ र नेपाल पुलिस क्लबले पोखरामा जारी एनसेल छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा जित हासिल गरेका छन् ।

पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा आज भएको पुरुष तर्फको पहिलो खेलमा पर्वत भलिबल सङ्घले सशस्त्र प्रहरी बलको (एपीएफ) लाई ३–१ को सेटमा पराजित गर्दा अर्को खेलमा नेपाल पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो ।
पर्वत भलिबल सङ्घले पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको पर्वतले दोस्रो सेट २१–२५ ले एपीएफलाई सुम्पिएको थियो । त्यसपछिका दुई सेटमा पुनरागमन गर्दै पर्वतले जित सुनिश्चित गर्यो । पर्वतले तेस्रो सेट २५–१९ र चौथो सेट २५–१५ मा जित निकालेको हो ।
त्यसै गरी आइतबारको अन्तिम तथा पुरुष तर्फको दोस्रो खेलमा नेपाल पुलिसले आर्मीलाई ३—१ को सेटमा पराजित गरेको हो । लगातार दुई सेट आफ्नो पोल्टामा पारेको पुलिसले तेस्रो सेट आर्मीलाई सुम्पियो भने चौथो सेटमा सहज जित हासिल गर्यो । पुलिसले आर्मीलाई २५—२२, २५—१६, २१—२५ र चौथो सेटमा २५—१५ को सेटमा पराजित गरेको हो ।
पोखरामा जारी एनसेल छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता अन्तर्गत आज (आइतबार) महिलातर्फ न्यू डायमन्ड स्पोट्र्स क्लब र थाइल्याण्ड क्विन्सले जित हासिल गरेका छन् ।
सोमबार महिलातर्फ एक र पुरुषतर्फ २ खेल हुने छन् ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीको सहभागिता रहेको आयोजक संस्था टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले बताउनुभयो । सिङ्गल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।








प्रतिक्रिया राख्नुहोस्