मधेस प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको मतदान जारी
जनकपुरधाम। राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मधेस प्रदेशमा चार सिटका लागि मतदान भइरहेको छ ।

चार सिटका लागि ११ जना उम्मेदवार चुनावी मैदानमा रहनु भएको हो । आज बिहान १० बजेदेखि मतदान सुरु भएर ३ बजेसम्म जारी रहनेछ ।
बिहान ११ बजेसम्ममा १ सय ६३ मत खसेको निर्वाचन अधिकृतले जानकारी दिनुभएको छ । जनकपुरधामको महेन्द्रनारायण निधि सांस्कृतिक केन्द्रमा भइरहेको छ ।

मधेस प्रदेशमा अन्य, महिला, दलित तथा अल्पसङ्ख्यक/अपाङ्गता भएका समूह गरी चार समूहका चार सिटमा निर्वाचन भइरहेको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले चारवटै समूहमा उम्मेदवारी दिएको छ भने जनता समाजवादी पार्टी (जसपा) नेपालले तीन सिटमा उम्मेदवारी दिए पनि ती उम्मेदवारी निष्क्रिय पारिएको पार्टीले जनाएको छ ।
नेपाली काँग्रेसले दुई सिटमा तथा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक–एक सिटमा उम्मेदवारी दिएका छन् । नेकपा एक्लै चुनावी प्रतिस्पर्धामा रहेको छ भने बाँकी दलहरू गठबन्धनका साथ निर्वाचनमा सहभागी हुनु भएको छ ।
महिला समूहमा जसपा नेपालकी चन्द्रकला देवी साह, नेकपा एमालेकी रेखा कुमारी झा र नेकपाकी शमी कुमारी अग्रवाल उम्मेदवार रहनु भएको छ । दलित समूहमा जसपा नेपालकी चमेली देवी दास, नेपाली काँग्रेसका धर्मेन्द्र पासवान र नेकपाका शम्भु पासवान हजारी उम्मेदवार रहनु भएको छ ।
अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय समूहमा नेकपाका रामनन्दन प्रसाद, नेपाली काँग्रेसका रञ्जित कर्ण र जसपा नेपालका शैलेश कुमार चौधरी उम्मेदवार रहनु भएको छ ।
अन्य समूहमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर र नेकपाका लक्ष्मण पौडेल उम्मेदवार रहनु भएको छ । मधेस प्रदेशमा प्रारम्भमा १०४ जना प्रदेशसभा सदस्य र २६६ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कुल ३७० जना मतदाता रहेकामा हाल १०० जना प्रदेशसभा सदस्य र २६४ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी ३६४ जना मतदाता रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्