तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान सुरु

बाँके । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित गर्न मतदान सुरु भएको छ । 

घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान प्रक्रिया सुरु गरिएको हो । प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पहिलो मत खसाल्दै मतदानको शुभारम्भ गर्नुभएको छ । 

लुम्बिनी प्रदेशबाट महिला, अपाङ्गता वा अल्पसङ्ख्यक र अन्य समूह गरी तीन जना राष्ट्रियसभा सदस्य निर्वाचित गरिनेछ ।

तीन सिटका लागि आठ जनाको मनोनयन दर्ता भएको छ । कांग्रेस–एमाले गठबन्धनबाट तीन जना, नेपाली कम्युनिष्ट पार्टीबाट तीन जना र राष्ट्रिय जनमोर्चाबाट दुई जनाको उम्मेदवारी दर्ता भएको हो ।

कांग्रेस र एमालेबीच तालमेल गरी उम्मेदवारी दर्ता गरिएको छ । गठबन्धन अनुसार एमालेको भागमा महिला कोटा परेको छ भने काँग्रेसलाई अपाङ्गता तथा अन्य समूहको कोटा परेको छ । यसअनुसार एमालेबाट गुल्मीको मदाने गाउँपालिका–४ की रामकुमारी झाँक्री महिला कोटाबाट उम्मेदवार रहनुभएको छ ।

काँग्रेसबाट अपाङ्गता कोटामा दाङको लमही नगरपालिका–२ का वासुदेव घिमिरे र अन्य समूहको कोटामा गुल्मीको रेसुङ्गा नगरपालिका–३ का चन्द्रबहादुर केसी उम्मेदवार रहनुभएको छ ।

नेपाली कम्युनिष्ट पार्टीले पनि तीनै कोटामा उम्मेदवारी दर्ता गराएको छ । महिला कोटाबाट पाल्पाको बराङ्दी गाउँपालिका–१ की दुर्गाकुमारी भण्डारी, अपाङ्गता कोटाबाट बाँकेको बैजनाथ गाउँपालिका–५ का सर्जन विक र अन्य समूहबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाट नगरपालिका–१४ का बृहस्पति अधिकारी चुनावी मैदानमा रहनुभएको छ । राष्ट्रिय जनमोर्चाबाट महिला र अन्य समूहमा उम्मेदवारी परेको छ । महिला कोटामा प्युठान नगरपालिका–८ की पद्मा पण्डित र अन्य समूहमा प्युठानको मल्लरानी गाउँपालिका–२ का बोमबहादुर खत्री उम्मेदवार रहनुभएको छ ।

हाल एमालेबाट निर्वाचित गोपाल भट्टराई, राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे र तत्कालीन माओवादी केन्द्रका जगप्रसाद शर्माको कार्यकाल फागुन २० गते सकिँदैछ । भट्टराई अन्य समूह, घिमिरे महिला र शर्मा अपाङ्गता कोटाबाट निर्वाचित हुनुभएको थियो ।

लुम्बिनी प्रदेशमा ८३ जना प्रदेशसभा सदस्य र २ सय १७ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कुल ३ सय जना मतदाता रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button