धनुषामा मतदान स्थलको संवेदनशीलताको आधारमा सुरक्षा गरिँदै
जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषामा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सुरक्षा सजगता बढाउने तयारी भइरहेको छ ।
जिल्लामा जुनसुकै मतदान केन्द्रमा ५ देखि ७ मिनटमा नै सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा व्यवस्था मिलाउन लागिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले जानकारी दिनुभयो ।
एक मतदान केन्द्रमा १० देखि १२ जना सुरक्षाकर्मी परिचालन गरिने उहाँले जानकारी दिनुभयो ।
धनुषाका तीन सय २२ मतदान स्थल मध्ये १९४ वटा मतदान स्थललाई अति संवेदनशीलमा वर्गीकरण गरिएको छ भने १०६ संवेदनशील र २२ वटा मात्र सामान्य मतदान स्थलमा राखेर सोही अनुसारको सुरक्षा व्यवस्था गरिन लागिएको छ ।
जिल्लामा मतदान केन्द्रको सङ्ख्या ६ सय ४५ रहेका छन् ।
खुल्ला सीमा नाका, बढी मतदाता, विगतका निर्वाचनमा मतदानको समयमा भएको विभिन्न किसिमको समस्याहरूलाई विश्लेषण गरेर मतदान थलको वर्गीकरण गरिएको छ ।
यसैबीच धनुषाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै सुरक्षा प्रमुखहरूको सहभागितामा अति संवेदनशील मतदान स्थलको आज पनि अनुगमन गरिएको छ ।
नेपाल–भारतको सीमानासँग जोडिएको मतदान स्थलको अनुगमन भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी लुइँटेलले जानकारी दिनुभयो ।
मधेस प्रदेश निर्वाचन कार्यालयका अनुसार धनुषाका ४ निर्वाचन क्षेत्रमा ५ लाख १४ हजार ५७१ जना मतदाता रहेका छन् । जसमा २ लाख ७६ हजार १२६ जना पुरुष २ लाख ३८ हजार ४३५ महिला र १० जना लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (अन्य) मतदाता रहेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषामा ४ वटा निर्वाचन क्षेत्रमा १ मा ४२ जना, क्षेत्र नम्बर २ मा ३४ जना, क्षेत्र नम्बर ३ मा ४५ जना र क्षेत्र नम्बर ४ मा ३७ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्