डुडुवा गाउँपालिकाको पहलः चिसोबाट जोगाउन छाडा चौपायालाई गौशालामा न्यानो कम्बल
बाँके। बाँकेको डुडुवा गाउँपालिकाले चिसो मौसमबाट छाडा चौपायालाई जोगाउन गौशालामा न्यानो कम्बलको व्यवस्था गरेको छ। वडा नं. ५ कम्दीस्थित बनक्षेत्रको छेउमा रहेको गौशालामा रहेका छाडा गाई–गोरु, बाछा–बाछीलाई न्यानो कपडा ओढाएर गोठमा सुरक्षित रूपमा राखिएको छ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीका अनुसार हाल गौशालामा रहेका करिब ५० वटा गाई, बाछा, बाछी र गोरुलाई चिसोबाट बचाउन न्यानो कम्बल उपलब्ध गराइएको छ। चिसो बढ्दै गएपछि पशुहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै गोठभित्र न्यानो वातावरण बनाइएको उहाँले बताउनुभयो।
गौशालामा पराल र भुससहितको चाराको व्यवस्था गरिएको छ। पशुहरूको नियमित निगरानी र हेरचाहका लागि एक जना जनशक्ति खटाइएको छ। अध्यक्ष चौधरीका अनुसार पालिका आसपासका क्षेत्र तथा भारतीय नाकाबाट आएका छाडा चौपायालाई समेत गौशालामा राखेर संरक्षण गरिएको छ।
यसैबीच, गाउँपालिकाको प्राविधिक शाखाका मदनेश्वर झाले गौशालाका कर्मचारी दामोदर यादवलाई न्यानो कम्बल हस्तान्तरण गर्नुभएको छ। डुडुवा गाउँपालिकाले निर्माण गरेको दुई वटा गोठमा करिब एक सय वटा पशु राख्न सक्ने क्षमता रहेको जनाइएको छ।
स्थानीय तहको यस पहलले छाडा चौपायाको संरक्षण र पशु कल्याणप्रति जिम्मेवार स्थानीय शासनको अभ्यासलाई देखाएको छ।








प्रतिक्रिया राख्नुहोस्