तपाईँ सुन्दै हुनुहुन्छः

उम्मेदवार चयनका त्रुटि आगामी दिनमा सच्याइन्छ : सभापति थापा 

काठमाडौँ । नेपाली कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीका नवनिर्वाचित सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गर्दै निर्वाचनमा जाने निर्णय गरेको छ । 

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको रूपमा अघि सार्ने सर्वसम्मत निर्णय गरेको बैठकपछि नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । 

उपसभापति शर्माले अहिलेको काँग्रेसले अघि सारेको उम्मेदवारले समयको माग र युवा पुस्ताको भावनालाई नेतृत्व दिनुका साथै मुलुकको विशिष्ट परिस्थितिको मागलाई समेत सम्बोधन गर्न सक्ने कांग्रेसको ठहर रहेको बताउनुभयो । 

नेपाली काँग्रेसले यसअघि विक्रम संवत् २०५६ सालको आमनिर्वाचनमा कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि बढाएर निर्वाचनमा गएको थियो । 

यस्तै नेपाली काँग्रेसको आजको बैठकले यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन आवश्यक समन्वयका लागि पार्टी उपसभापति पुष्पा भुषालको संयोजकत्वमा सबै प्रदेशका सभापतिहरूलाई जिम्मेवारी दिने, पार्टीको तर्फबाट तत्काल निर्णय लिनुपर्ने अवस्थामा त्यस्तो निर्णय लिन सक्नेगरी पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने, जेन्जी आन्दोलनबाट क्षति पुगेको केन्द्रीय कार्यालय भवनको पुनर्निर्माणका लागि पार्टीका पूर्व कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा भवन पुनर्निर्माण समिति गठन गर्ने लगायतका निर्णयहरू गरेको नेपाली काँग्रेसले जनाएको छ । 

बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिने क्रममा नेपाली कांग्रेसका सभापति गगन थापाले समय अभावको कारणले अहिलेको उम्मेदवार चयनमा केही त्रुटि भए पनि आगामी दिनमा त्यसलाई सच्याउने बताउनुभयो । 

यस पछिका निर्वाचनमा पार्टीका तल्लो तहबाटै उम्मेदवारको टुङ्गो लगाउने पद्धतिको विकास गर्ने उल्लेख गर्नुहुँदै सभापति थापाले अब बदलिएको काँग्रेसले देश बदल्ने सङ्कल्पका साथ एकताबद्ध भएर निर्वाचनमा केन्द्रित हुन पार्टीका नेता–कार्यकर्तालाई आह्वान समेत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button