प्रदेश प्रमुखसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस

जनकपुरधाम, माघ ८ । मधेस प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ कर्णसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सातौँ वार्षिक प्रतिवेदन पेस भएको छ ।
प्रदेश प्रमुख कार्यालयमा आज आयोजित कार्यक्रममा आयोगका सचिव दिनेश कुमार घिमिरेले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष २०८१÷०८२ मा आयोगले सम्पादन गरेका काम, उपलब्धि र सिफारिस समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
प्रतिवेदनमा सङ्घ, प्रदेश र स्थानीय तहबीच प्राकृतिक स्रोतको बाँडफाँट, वित्तीय समन्वय, राजस्व वितरण तथा विकास आयोजनामा स्रोत परिचालनसम्बन्धी विषय समेटिएको छ ।
आयोगले समावेशी विकास र आर्थिक सन्तुलन कायम गर्न विभिन्न सुझाव समेत प्रस्तुत गरेको छ ।
सो अवसरमा प्रदेश प्रमुख डा.कर्णले प्रतिवेदन बुझ्नुहुँदै आयोगको भूमिकालाई महत्त्वपूर्ण रहेको भन्नुहुँदै प्रतिवेदनमा समेटिएका सुझाव कार्यान्वयनतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको बताउनुभयो ।
प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले प्रतिवेदन आगामी दिनमा प्रदेश र स्थानीय तहको वित्तीय व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्