तपाईँ सुन्दै हुनुहुन्छः

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक साधारण सभा प्रतिवेदन नबुझाएसम्म खारेजीको अनुमति नदिने जनाएको छ ।  

ती सहकारी संस्थालाई तत्काल वार्षिक साधारण सभा सम्पन्न गरी लेखापरीक्षण प्रतिवेदन साधारण सभाको निर्णय तथा वार्षिक प्रतिवेदन कामपा सहकारी विभागमा बुझाउन यस अघि निर्देशन दिइसकेको छ । 

कामपा सहकारी विभाग प्रमुख महेशकुमार काफ्लेका अनुसार लामो समयदेखि साधारण सभा प्रतिवेदन नबुझाएका सहकारीलाई खोरेजीको प्रक्रियामा लैजाँदा बचतकर्ताको रकम हिनामिना हुने भएकाले महानगरले पहिले प्रतिवेदन त्यसपछि मात्रै खारेजी प्रक्रिया अघि बढाउने भएको हो । 

खारेजीको प्रक्रियामा आउने कुनै पनि सहकारीले सबैभन्दा पहिले उक्त सहकारीमा रकम बचत गर्ने बचतकर्ताको यकिन हुनुपर्ने, आर्थिक कारोबार पनि यकिन हुनुपर्ने जनाइएको छ ।  

कामपाले दुई महिनाअघि नै सूचनामार्फत तोकिएको समयमा प्रतिवेदन पेस नगर्ने र साधारण सभा नगर्ने सहकारीलाई निष्क्रिय घोषणा गरी कानुनी कारबाही गरिने चेतावनीसमेत दिइसकेको छ ।  

हाल कामपामा करिब एक हजार नौ सय सहकारी सञ्चालनमा छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button