तपाईँ सुन्दै हुनुहुन्छः

बर्दियामा बाघ गणना जारी, दुई ट्रयापिङ क्यामेरा वन्यजन्तुद्वारा क्षति

बाँके  बाघको सङ्ख्या तथ्याङ्क सङ्कलनका लागि सञ्चालन भइरहेको क्यामेरा ट्रयापिङ अभियानका क्रममा दुई थान ट्रयापिङ क्यामेरा वन्यजन्तुले क्षति पुर्‍याएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्फाहाम्फेका अनुसार एउटा क्यामेरा बाघले नै क्षति पुर्‍याएको हो भने अर्को क्यामेरा खुल्न नसकेको अन्य वन्यजन्तुले तोडफोड गरेको पाइएको छ ।

यसैबीच बाघ गणनाको पहिलो चरणअन्तर्गत २ सय २५ ग्रिडका ८ वटा ब्लकमा गणना कार्य सम्पन्न भएको छ । पहिलो चरणमा बर्दिया राष्ट्रिय निकुञ्ज, खाता जैविक मार्ग, डल्ला, कर्णाली चिसापानी, खयरभट्टी, भुरीगाउँ, रम्मापुर र थुम्नी क्षेत्र समेटिएका थिए ।

दोस्रो चरणको बाघ गणना भने बाँके र दाङ जिल्लामा सुरु गरिने तयारी गरिएको छ । गत पुस ९ गतेदेखि सुरु भएको बाघ गणना अभियान बर्दिया राष्ट्रिय निकुञ्ज, वन्यजन्तु विभाग, विश्व वन्यजन्तु संरक्षण कोष, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाली सेना तथा चोरी सिकारी नियन्त्रण युवा अभियानको संयुक्त पहलमा सञ्चालन भइरहेको छ । प्राविधिक टोलीले क्यामेरा ट्रयापिङ प्रविधिको प्रयोग गरी बाघको तथ्याङ्क सङ्कलन गरिरहेको छ ।

यसअघि सन् २०२२ मा गरिएको गणनामा बर्दियामा १ सय २५ वटा बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । ९ सय ६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको बर्दिया राष्ट्रिय निकुञ्ज, त्यसको मध्यवर्ती क्षेत्र र जैविक मार्गमा गरिएको गणनाका आधारमा यस वर्ष बाघको सङ्ख्या थप वृद्धि हुने अनुमान गरिएको छ ।

संरक्षण प्रयास प्रभावकारी बन्दै जाँदा बाघको सङ्ख्या बढ्दै गएको सङ्केत मिलेको सरोकारवालाहरूले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button