व्यावसायिक किवी खेती गर्दै आउनुभएका देउकुमार उत्कृष्ट किसानबाट सम्मानित

इलाम । चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस–२०८२ को अवसरमा कृषि ज्ञान केन्द्र इलामको आयोजनामा सम्पन्न अन्तरक्रिया तथा कृषक सम्मान कार्यक्रममा ब्रिटिस सेनाबाट सेवा निवृत्त भई स्वदेशमै व्यावसायिक कृषि फार्म सञ्चालन गर्दै आउनुभएका देउकुमार राई उत्कृष्ट किसानको रूपमा सम्मानित हुनुभएको छ।
१८ वर्षसम्म ब्रिटिस सेनामा सेवा गरी सेवा निवृत्त भएपछि स्वदेश फर्किनुभएका राईले २०७० सालदेखि इलाममा किवी खेतीलाई व्यावसायिक रूपमा अघि बढाउँदै आउनुभएको छ। उहाँको लगनशीलता, परिश्रम र सफल व्यावसायिक कृषि अभ्यासलाई कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो।
कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले स्वदेशमै श्रम, सीप र अनुभव प्रयोग गरी कृषि पेसामा सफल भएका किसानहरू राष्ट्रका प्रेरणाका स्रोत भएको बताउनुभयो । उहाँले कृषिलाई आधुनिक, वैज्ञानिक र आत्मनिर्भर बनाउने दिशामा सरकारी निकायहरूको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सफल किसानलाई राज्यले प्रोत्साहन र संरक्षण दिनुपर्नेमा जोड दिनुभयो ।
कृषि ज्ञान केन्द्र इलामका प्रमुख रवि किरण अधिकारीले देउकुमार राईको सङ्घर्ष र सफलतालाई उदाहरणीय रहेको बताउनुभयो। युवालाई यस्ता प्रयासले कृषितर्फ आकर्षित गर्ने विश्वास व्यक्त गर्नुहुँदै उहाँले कृषि जैविक विविधताको संरक्षण र व्यावसायिक कृषिमा सफल किसानको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले, कृषि ज्ञान केन्द्र इलामले यस्ता प्रयासलाई निरन्तर साथ दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

सम्मानित हुनुभएका किसान देउकुमार राईले आफू सम्मानित हुन पाउँदा खुसी व्यक्त गर्नुहुँदै नेपालमा अझै पनि ‘कृषि गर्नेले पढेको हुँदैन र पढेकाले कृषि गर्दैन’ भन्ने गलत सोच रहेको बताउनुभयो । उहाँले प्रविधिको विकाससँगै कृषिलाई अगाडि बढाउन सरकारले विशेष जोड दिन आवश्यक रहेको बताउनुभयो। उहाँले कृषिलाई सम्मानजनक र लाभदायक पेसाका रूपमा स्थापित गर्न नीतिगत सुधार र प्राविधिक सहयोग अपरिहार्य रहेको बताउनुभयो ।
कार्यक्रममा सुरक्षा निकायका प्रमुख, कृषि प्राविधिक, किसान तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति थियो।








प्रतिक्रिया राख्नुहोस्