पर्सामा १ सय ९ जनाको उम्मेदवारी दर्ता
वीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मङ्गलवार पर्सा जिल्लाका ४ निर्वाचन क्षेत्रबाट १ सय ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालय पर्साले दिएको जानकारी अनुसार मङ्गलवार उम्मेदवारी दर्ता गर्नेमा विभिन्न राजनीतिक दलका ६२ जना, स्वतन्त्र ४७ जना गरी १ सय ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् जसमा १२ जना महिला रहेका छन् ।
निर्वाचन कार्यालय पर्साकी प्रमुख अनामिका रौनियारले दिनुभएको जानकारी अनुसार पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट ३० जना, क्षेत्र नम्बर २ बाट ३२ जना, क्षेत्र नम्बर ३ बाट २३ जना र पर्साको क्षेत्र नम्बर ४ बाट २४ जना गरी १ सय ९ जनाले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गराउने मध्ये ८९ प्रतिशत अर्थात् ९७ जना पुरुष र ११ प्रतिशत अर्थात् १२ जना महिला रहेका छन् ।
पर्साबाट सबैभन्दा बढी उम्मेदवार क्षेत्र नम्बर २ मा रहेका छन् । २ बाट ३२ जनाले उम्मेदवारी दिएका छन् भने त्यसपछि क्षेत्र नम्बर १ बाट ३० जना, क्षेत्र नम्बर ४ बाट २४ जना र क्षेत्र नम्बर ३ बाट २३ जना रहेका छन् । यसपटक पर्सा जिल्लामा २५ वर्षीय महम्मद उमर खान र किशोरी प्रसाद यादव गरी २ जना कम उमेरका उम्मेदवार रहेका छन् भने सबै भन्दा ज्येष्ठ उम्मेदवार ७८ वर्षीय जालिम मियाँ मन्सुरी रहेको निर्वाचन कार्यालय पर्साकी प्रमुख रौनियारले बताउनुभयो ।
पर्सामा ४१ देखि ६० वर्षीय समूहका उम्मेदवारहरूको बाहुल्य रहेको बताउँदै रौनियारले पर्साको निर्वाचन क्षेत्र नम्बर ४ बाट सर्वाधिक महिला उम्मेदवार रहेको जानकारी दिनुभयो । उहाँले पर्साका ४ निर्वाचन क्षेत्रबाट १२ जना महिलाले उम्मेदवारी दर्ता गराएकोमा क्षेत्र नम्बर ४ मा मात्रै ६ जना महिला उम्मेदवार रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्