तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा चार निर्वाचन क्षेत्रमा १४३ जनाको मनोनयन, महिलाको संख्या न्यून

रौतहट। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रौतहटका चार निर्वाचन क्षेत्रमा मंगलबार दलगत र स्वतन्त्र गरी कुल १४३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। १४३ उम्मेदवारमध्ये १३० पुरुष र १३ महिला मात्र रहेका छन्, जसले महिला सहभागिता निकै कम रहेको देखाउँछ।

रौतहट क्षेत्र नं. १ मा दलगत र स्वतन्त्र गरी ३९ जनाले उम्मेदवारी दर्ता गरेका छन्। यसमा १८ दलगत र २१ स्वतन्त्र उम्मेदवार रहेका छन्, जसमा ३ महिला र ३६ पुरुष छन्, मुख्य निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिनुभयो।

क्षेत्र नं. २ मा २६ उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। यसमा १४ दलगत र १२ स्वतन्त्र उम्मेदवार छन्, तर महिला उम्मेदवार भने छैनन्, निर्वाचन अधिकृत सीताराम खड्काले जानकारी दिनुभयो।

क्षेत्र नं. ३ मा ४१ उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। यसमा १६ दलगत र २५ स्वतन्त्र उम्मेदवार रहेका छन्, जसमा ३ जना मात्र महिला छन्, निर्वाचन अधिकृत अवध किशोरप्रसाद कुशवाहाले जानकारी दिनुभयो।

क्षेत्र नं. ४ मा ३७ उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। दलगत १७ उम्मेदवार सबै पुरुष छन् भने स्वतन्त्र २० उम्मेदवारमध्ये ७ महिला र १३ पुरुष छन्, निर्वाचन अधिकृत उद्धव ढोडारीले जानकारी दिनुभयो।

चारै निर्वाचन क्षेत्रमा महिला उम्मेदवारको संख्या न्यून रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button