निर्वाचनलाई शान्तिपूर्ण बनाउनका लागि हतियार बुझाउन बाँके प्रशासनको अनुरोध
बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्वसाधारणलाई हातहतियार तथा खरखजाना बुझाउन आग्रह गरेको छ। फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले यस्तो आग्रह गरिएको कार्यालयले जनाएको छ ।

मङ्गलबार जिल्ला प्रशासन कार्यालय बाँकेको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङद्वारा जारी सूचनामा जिल्लाभित्र रहेका इजाजतप्राप्त हातहतियार तथा खरखजाना तोकिएको समयभित्र बुझाउन भनिएको छ। सूचनाअनुसार, हातहतियार तथा खरखजाना राखेका व्यक्तिहरूले १५ दिनभित्र नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाउनुपर्नेछ।
प्रशासनले निर्वाचनका बेला हुन सक्ने सम्भावित हिंसा, डर त्रास तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न यो कदम चालिएको जनाएको छ। हातहतियार सङ्कलनले निर्वाचन प्रक्रियामा नागरिकको निर्भीक सहभागिता सुनिश्चित गर्न सहयोग पुग्ने प्रशासनको विश्वास छ।
त्यसैगरी, कसैले अवैध रूपमा हातहतियार तथा खरखजाना राखेको जानकारी पाएमा नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा सूचना गरिदिन पनि प्रशासनले सर्वसाधारणसँग अनुरोध गरेको छ। यस कार्यमा सबैको सहयोग आवश्यक रहेको भन्दै प्रशासनले नागरिकलाई सचेत र जिम्मेवार बन्न आग्रह गरेको छ।








प्रतिक्रिया राख्नुहोस्