तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा सदस्य निर्वाचन: को कहाँबाट लड्दै ?

काठमाडाैँ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता जारी रहेको छ।

बिहान १०ः०० बजेदेखि देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका लागि निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयन पत्र दर्ता गराई रहनुभएको छ। 

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली  र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह–बालेनले झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गराउनुभएको छ ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पूर्वबाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।

झापा क्षेत्र नम्बर २ मा निवर्तमान सभामुख देवराज घिमिरेले नेकपा एमालेको तर्फबाट र उपसभामुख इन्दिरा रानाले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको छ भने झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । 

उहाँले, नेपाली काँग्रेस मधेस प्रदेशका उपसभापति विरेन्द्र सिंहलाई वारेसनामा दिएर मनोनयन दर्ता गराउनुभएको हो ।

यसै गरी नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङ क्षेत्र नम्बर २ बाट र नेपाली कम्युनिस्ट पार्टीका नेता एवं भरतपुर महानगरपलिकाका निवर्तमान प्रमुख रेणु दाहालले चितवन क्षेत्र नम्बर ३ बाट मनोनयन दर्ता गराउनुभएको छ ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसै गरी, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराउनुभएको छ ।

नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले सर्लाही क्षेत्र नम्बर ३ बाट उम्मेदवारी मनोनयन गराउनुभएको छ भने नेकपा एमालेका नेता ईश्वर पोखरेलले काठमाडौँ क्षेत्र नम्बर ५ बाट आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।

पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सह संयोजक माधवकुमार नेपाले रौतहट क्षेत्र नम्बर ४ बाट र प्रगतिशील लोकतान्त्रिक पार्टी–प्रलोपाका संरक्षक एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुुवालले भक्तपुर क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गराउनुभएको छ । 

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले देशैभर उम्मेदवारी दर्ता शान्तिपूर्ण रूपमा भइरहेको जानकारी दिनुभएको छ ।

उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मको समय तोकेको छ  ।

उम्मेदवारी दर्ता गराउनका लागि बेलुकी ५ बजेसम्म लाइन बसिसकेकाले उम्मेदवारी दर्ता गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारी दर्ताका लागि नागरिकता वा मतदाता परिचयपत्रसहित १३ प्रकारका कागजात साथमा लिएर आउन आयोगले आह्वान गरेको छ । 

उम्मेदवारी दर्तापछि आजै बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

यसैबिच भोली बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएको उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ । 

माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरी बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने छ । 

माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । 

माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button