तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिममा नेकपाले अधिकांश उम्मेदवारको टुङ्गो लगायाे

सुदूरपश्चिम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएको छ । 

कैलालीका निर्वाचन क्षेत्र नं २ र ५ बाहेक अन्य सबै क्षेत्रमा उम्मेदवारको टुङ्गो लागेको पार्टीका प्रदेश सचिव जनक बुढाले जानकारी दिनुभयो । 

उहाँका अनुसार कैलाली निर्वाचन क्षेत्र नं १ मा रामलाल डगौरा थारु, क्षेत्र नं ३ मा वीरमान चौधरी र क्षेत्र नं ४ मा हरि चौधरीलाई उम्मेदवार बनाउने तय भएको छ । 

यस्तै, कञ्चनपुर निर्वाचन–१ मा बिना मगर, क्षेत्र नं २ मा लालबहादुर खड्का र क्षेत्र नं ३ मा मानबहादुर सुनार उम्मेदवार बन्ने निश्चित भएको छ । अछाम निर्वाचन क्षेत्र नं १ मा डा भीमबहादुर रावल र क्षेत्र नं २ मा शरद्सिंह भण्डारीको नाम टुङ्गो लागेको पनि बुढाले बताउनुभयो । 

यसैगरी, डोटीमा प्रदेश सरकारका पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका त्रिलोचन भट्ट, बाजुरामा प्रकाशबहादुर शाह, डडेल्धुरामा मानसिंह माल, दार्चुलामा लक्ष्मणदत्त जोशी, बैतडीमा परमानन्द भट्ट र बझाङमा मीनबहादुर कुँवरलाई उम्मेदवार बनाउने करिब टुङ्गो लागेको उहाँले जानकारी दिनुभयो । 

कैलालीका निर्वाचन क्षेत्र नं २ र ५ मा पनि छिट्टै उम्मेदवारको टुङ्गो लाग्ने नेता बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “कैलाली क्षेत्र नं २ मा नन्दबहादुर साउद र क्षेत्र नं ५ मा प्रेमबहादुर आलेले टिकट पाउने सम्भावना छ ।”

उम्मेदवारका आकाङ्क्षी केन्द्रमा सिफारिस गरिसकेका नेपाली कांग्रेस, नेकपा ९एमाले०लगायतका दलले भने अझै दलका तर्फबाट उठाइने उम्मेदवारको टुङ्गो लगाउन बाँकी छ । निर्वाचनका लागि यही माघ ६ गते उम्मेदवारको मनोनयन गर्नुपर्ने कार्यतालिका छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button