तपाईँ सुन्दै हुनुहुन्छः

२६ औँ आदर्श कप माघ ९ गतेदेखि 

पोखरा । पोखरा–२९ भण्डारढिकमा रहेको आदर्श युवा क्लबको आयोजनामा यही माघ ९ गतेदेखि पोखरामा २६ औँ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । माघ १६ गतेसम्म भण्डारढिकको खेलमैदान (लेखनाथ रंगशाला) मा सञ्चालन हुने प्रतियोगितामा दुई विभागीय टोली सहित आठ टिमको सहभागिता रहने शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतियोगितामा आयोजक आदर्श युवा क्लब, कास्की, कास्की जिल्ला फुटबल संघ, तनहुँ जिल्ला फुटबल संघ, नेपाल प्रहरी (गण्डकी प्रदेश), सशस्त्र प्रहरी बल (मुक्तिनाथ बाहिनी मुख्यालय), म्याग्दी जिल्ला खेलकुद विकास समिति, गन्नी फुटबल क्लब (पर्वत) र होराइजन क्लब (वालिङ–स्याङ्जा) सहभागी हुने क्लबका अध्यक्ष पदम गुरुङले बताउनुभयो । क्लबले खेल तालिका(टाई सिट) समेत शनिबार सार्वजनिक गरेको छ । माघ ९ गते हुने उद्घाटन खेलमा कास्की जिल्ला फुटबल संघ (कास्की ११) र नेपाल प्रहरी (गण्डकी प्रदेश ) बिच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतियोगितामा विजेतालाई ४ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेतालाई ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई २५ हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्लेमेकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार नगद र ट्रफी प्रदान गरिनेछ । साथै प्रतियोगिताको अनुशासित टोलीलाई विशेष ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button