नारदमुनि थुलुङ स्मृति गोल्डकपको एघारौँ संस्करण माघ १५ गतेबाट
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४, बसाहामा आयोजना हुँदै आएको नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको एघारौँ संस्करण माघ १५ गतेदेखि सुरु भएर माघ २२ गते सम्पन्न हुने भएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगितासम्बन्धी विस्तृत जानकारी गराएको हो । स्थानीय बसाहा क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा आयोजकसहित ८ वटा टिमको सहभागिता रहने छ ।
प्रतियोगिता चौदण्डीगढी नगरपालिका–४ स्थित बसाहा बर्खे डाँडामा रहेको नारदमुनि थुलुङ रङ्गशालामा आयोजना हुने बसाहा क्लबका अध्यक्ष दिनेश राईले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा आयोजक बसाहा क्लबसहित एलएक्स सिटी मोरङ, द यङ ब्रदर्स सुनसरी, नेपाल खेलकुद रौतहट, एपीएफ क्लब काठमाडौँ, न्यू त्रियुगा स्पोट्र्स क्लब सप्तरी तथा झापा–११ बीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेता टोलीले नगद ५ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेता टोलीले नगद ३ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव दिपेन्द्र लामाले जानकारी दिनुभयो ।
यसैगरी प्रतियोगितामा बेस्ट प्लेयर, बेस्ट मिडफिल्डर, बेस्ट गोलकिपर, उदीयमान खेलाडी सहितका विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ नगदसहित कप र मेडल प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
आयोजक बसाहा क्लबका अनुसार प्रतियोगिता सञ्चालन गर्न अनुमानित २४ देखि २५ लाख रुपैयाँ खर्च हुने छ । प्रतियोगिता सम्पन्न गर्न चौदण्डीगढी नगरपालिकाबाट ९ लाख रुपैयाँ, वडा नं. ३ बाट ५० हजार, वडा नं. ४ बाट १ लाख, कटारी नगरपालिकाबाट १ लाख तथा देश विदेशमा रहनु हुने स्थानीय एवम् स्थानीय संघ संस्था र टोल विकासको सहयोगबाट ८ लाख ८६ हजार रुपैयाँ सङ्कलन गरिएको क्लबका कोषाध्यक्ष तेन्जु राईले जानकारी दिनुभयो ।
२००७ सालको प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वर्गीय नारदमुनि थुलुङ राईको स्मृतिमा बसाहा क्लबले विगत डेढ दशक अघि देखि यो प्रतियोगिता निरन्तर आयोजना गर्दै आएको छ ।
उदयपुर जिल्लाको साविक बसाहा गाविस, हालको चौदण्डीगढी नगरपालिका क्षेत्रमा स्वर्गीय नारदमुनि थुलुङको योगदानको कदर स्वरूप नारद आदर्श शिक्षा क्याम्पस, नारद आदर्श माध्यमिक विद्यालय तथा नारदमुनि रंगशाला स्थापना तथा नामकरण समेत गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्