तपाईँ सुन्दै हुनुहुन्छः

२५ औँ आहा रारा पोखरा गोल्ड कप फ्लडलाइटमा खेल हुने तयारी

पोखरा । नेपालकै प्रतिष्ठित आहा रारा पोखरा गोल्डकपको २५ औँ संस्करण (रजत जयन्ती) को अवसरमा पोखरेली दर्शकलाई फ्लडलाइटको व्यवस्था सहित साँझमा उक्त खेल हुने भएको छ । उक्त गोल्ड कपको रजत जयन्तीलाई यस बर्ष थप आकर्षण गर्न फ्लडलाइडको व्यवस्था हुने भएको प्रतियोगिताका संयोजक पूर्ण बहादुर गुरुङले बताउनु भयो ।

उहाँले भन्नुभयो“रजत जयन्तीको अवसरमा पोखरामा पहिलो पटक अस्थायी फ्लडलाइट जडान गरी रात्रिकालीन फुटबल आयोजना गर्ने हामी तयारीमा छौँ, यसपाली पोखरेली दर्शकलाई फरक आकर्षण यही हुने छ । ” साझ हुने उक्त प्रतियोगितामा धेरै जनाले आफ्नो काम सकेर साँझ पनि रङ्गशालामा आउन सक्ने संयोजक गुरुङले जनाउनु भयो ।

पोखरा रंगशालाको फुटबल मैदानमा चारै कुनामा करिब ३५ फिट उचाइका अस्थायी पोल राखेर फ्लडलाइट जडान गरिने भएको छ भने प्रत्येक पोलमा १२ देखि १६ वटा शक्तिशाली लाइट जडान गर्ने भएको सहारा क्लबले जनाएको छ । फ्लडलाइट, स्ट्यान्ड, तार, जेनेरेटर लगायत सम्पूर्ण संरचनामा कबिर २० देखि २५ लाख रुपैयाँभन्दा बढी खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ ।

यसपालि माघ २७ देखि फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी तथा विदेशी चर्चित क्लब सहभागी गराउने तयारी पनि भइरहेको छ । फ्लडलाइटको व्यवस्थाले खेलको स्तर, दर्शकको उपस्थिति र प्रतियोगिताको आकर्षण अझै बढ्ने आयोजकको विश्वास छ ।

२०५८ सालदेखि निरन्तर आयोजना हुँदै आएको आहा रारा पोखरा गोल्डकप मोफसलकै प्रतिष्ठित प्रतियोगिता हो । सहारा फुटबल एकेडेमीमा हाल १६ जिल्लाका ३० जना बालकहरू रहेको क्लबका अध्यक्ष केशव बहादुर थापाले बताउनु भयो । उक्त गोल्ड कपको बचत रकम एकेडेमीमा क्लबले खर्चिँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button