तपाईँ सुन्दै हुनुहुन्छः

गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा शान्ति परिषद् गठन गर्ने घोषणा गर्नु भएको छ, जुन प्यालेस्टिनी क्षेत्रमा युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिकी योजनामा उल्लेखित निकाय हो ।

सामाजिक सञ्जाल ट्रुथमा ट्रम्पले परिषद्को गठन भएको घोषणा गर्नु ठूलो सम्मानको कुरा भएको उल्लेख गर्दै यसका सदस्यहरूको सूची चाँडै सार्वजनिक हुने बताउनु भएको छ ।  

उहाँले परिषद्लाई सबैभन्दा ठूलो र सबैभन्दा प्रतिष्ठित परिषद्को रूपमा वर्णनसमेत गर्नु भएको छ ।  

शान्ति परिषद्को प्रमुखको हैसियतमा उहाँले नयाँ नियुक्त प्यालेस्टिनी प्राविधिक समिति र संक्रमणकालीन अवधिमा गाजाको प्रशासन हेर्ने राष्ट्रिय समितिलाई समर्थन गरेको बताउँदै  प्यालेस्टिनी नेताहरू शान्तिपूर्ण भविष्यका लागि दृढ प्रतिबद्ध रहेको जनाउनु भएको छ । 

युद्धपछिको अवधिमा गाजाको व्यवस्थापन गर्न १५ सदस्यीय प्यालेस्टिनी प्राविधिक समिति गठन भएको केही समय पछि यो घोषणा आएको हो ।

अमेरिका समर्थित गाजा शान्ति योजना गत अक्टोबर– १० देखि लागु भएको थियो भने यस क्षेत्रमा अन्तर्राष्ट्रिय बलको तैनाथी का साथै प्यालेस्टिनी प्रहरी एकाइहरूको प्रशिक्षणको प्रावधान समावेश छ ।

अमेरिकी मध्यपूर्वका दूत स्टिभ विटकोफका अनुसार बुधबार देखि लागु भएको योजनाको दोस्रो चरण गाजा पट्टीको पुनर्निर्माणमा केन्द्रित छ । रासस/क्युएनए

प्रतिक्रिया राख्नुहोस्

Back to top button