तपाईँ सुन्दै हुनुहुन्छः

पादुका त्रिवेणी धाम: धार्मिक आस्था, इतिहास र पर्यटनको संगम

बाजुरा। बाजुराको बुढीनन्दा नगरपालिका–१ मा अवस्थित पादुका त्रिवेणी धाम धार्मिक आस्थाको एक महत्वपूर्ण धरोहरका रूपमा परिचित छ।

वर्षेनी यहाँ पूजापाठ, धार्मिक अनुष्ठान, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरू सञ्चालन हुँदै आएका छन्। ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यो धाम सुदूरपश्चिम प्रदेशकै एक विशिष्ट धार्मिक स्थलका रूपमा स्थापित हुँदै गएको छ।

जिल्लाको हिमाली गाउँपालिका, छिमेकी जिल्ला हुम्ला, मुगु हुँदै जाने सडकखण्ड तथा रारा पर्यटन मार्ग अन्तर्गत कर्णाली नदीसँगै जोडिएको यो धाम धार्मिक मात्र नभई पर्यटकीय दृष्टिले पनि अत्यन्तै महत्वपूर्ण मानिन्छ। धार्मिक मान्यताअनुसार सतिदेविको पाउ पतन भएको स्थान भएकाले यस क्षेत्रको उत्पत्ति भएको विश्वास गरिन्छ। साथै, प्राचीन कालमा पाण्डवहरूले निर्माण गरेको मन्दिरसमेत यहाँ रहेको जनविश्वास छ।

बुढीनन्दा, बडीमालिका र शिम्बुनाथ क्षेत्रका अन्तरस्तुपा यही क्षेत्रमा पर्ने तथा मानसरोवर, बडीमालिका र बुढीनन्दाबाट बगेर आएका तीनवटा नदीको संगमस्थल भएकाले यसलाई “पादुका त्रिवेणी धाम” भनिएको हो। यही कारणले यो स्थल धार्मिक दृष्टिले विशेष पूजनीय मानिन्छ। ऐतिहासिक तथ्यअनुसार यहाँ रहेको मन्दिर करिब ५ हजार १ सय ४० वर्ष पुरानो मानिन्छ। पादुका त्रिवेणी धामका पुजारी मष्टीप्रसाद उपाध्यायका अनुसार, “मानसरोवर–कैलाशद्वार पादुका त्रिवेणी धाममा स्नान गरेपछि मानव मानसरोवरसम्म पुग्नै नपर्ने धार्मिक मान्यता छ।” उहाँका अनुसार मानसरोवर जान नसक्ने दर्शनार्थीहरूले पादुकामै दर्शन र स्नान गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ।

धार्मिक आस्था, ऐतिहासिक महत्व र प्राकृतिक सौन्दर्यको संगम भएको पादुका त्रिवेणी धाम धार्मिक पर्यटनको अपार सम्भावना बोकेको क्षेत्र हो। यस धामको थप संरक्षण, पूर्वाधार विकास र प्रचार–प्रसार गर्न सके धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय आर्थिक विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button