नेपालगञ्जमा मिथिला संस्कृतिको झल्को सहित माघे सङ्क्रान्ती कार्यक्रम
बाँके । नेपालगञ्जमा बसोबास गर्दै आएका मैथिली भाषीहरूको साझा संस्था मिथिला सेवा समाजले आफ्नो स्थापना दिवसको अवसरमा माघे सङ्क्रान्ती (तिलासकरात) विशेष कार्यक्रम आयोजना गरेको छ।
विविध जाति, भाषा र संस्कृतिबीच आपसी सद्भाव र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा मिथिला संस्कृतिको स्पष्ट झल्को देखिएको थियो।
समाजका महासचिव भरत महतोका अनुसार नेपालगञ्जमा रहेका मैथिली भाषी समुदायलाई एकताबद्ध गर्दै सामाजिक, आर्थिक तथा सांस्कृतिक गतिविधि सशक्त बनाउने लक्ष्यका साथ प्रत्येक वर्ष माघी पर्वकै दिन कार्यक्रम आयोजना गरिँदै आएको छ। उहाँका अनुसार बाँके जिल्लामा व्यवसाय, शिक्षा, सुरक्षा निकाय, स्वास्थ्य र निजामती सेवामा संलग्न मैथिली भाषी करिब एक हजार घरधुरी रहेका छन्।
कार्यक्रममा मिथिला संस्कृतिको संरक्षण तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएका एक सयभन्दा बढी व्यक्तित्वलाई खादा–मालाले सम्मान गरिएको थियो। तिलको लड्डु, चाकु, तरुललगायत माघे सङ्क्रान्तीका परम्परागत परिकार र सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई आकर्षक बनाएको थियो।
नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उहाँले बाँकेको बहुसांस्कृतिक पहिचानलाई सुदृढ बनाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो। भाषा, संस्कृति र पर्वले समुदायलाई नजिक ल्याउने भएकाले आपसी सम्मान र सद्भाव कायम राख्नुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख संजय कुमार मिश्र, वरिष्ठ अधिवक्ता विजय गुप्ता, अधिवक्ता विश्वजित तिवारी, पत्रकार रुद्र सुवेदी, डा. प्रविन गुप्तालगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
मिथिला सेवा समाजद्वारा आयोजित यस कार्यक्रमले माघे सङ्क्रान्तीलाई पर्वसँगै एकता, सद्भाव र सांस्कृतिक सहअस्तित्वको उत्सवका रूपमा प्रस्तुत गरेको सहभागीहरूले बताएका छन्।








प्रतिक्रिया राख्नुहोस्