तपाईँ सुन्दै हुनुहुन्छः

मिति गुज्रिँदा समेत पुल निर्माण सम्पन्न भएन, सर्वसाधारण सास्तीमा 

रौतहट । सडक डिभिजन कार्यालय चन्द्रनिगापुर मातहत निर्माणाधीन १४ वटा पुलमध्ये अधिकांश पुल बनाउनुपर्ने मिति नाघिसक्दा समेत अलपत्र अवस्थामा रहेका छन् । अधिकांश पुल निर्माण सुरु भएको करिब दशक पुग्नै लाग्सदा स मेत १४ मध्ये ७ वटा पुलको भौतिक प्रगति ६० प्रतिशत भन्दा कम रहेको देखिएको छ ।

२०७३ सालमै पप्पु–शिवशङ्कर जेभीले सिमरा भवानीपुर नगरपालिका–८ र वडा नं–९ प्रतापपुर पल्टुवा जोड्ने लमहा नदीमा पुल निर्माण सुरु गरेको थियो । तर करिब नौ वर्ष बित्दा समेत सो पुलको भौतिक प्रगति ६० प्रतिशतमा सीमित छ। समयमा निर्माण नहुँदा पुलको म्याद पटक–पटक थप्ने प्रक्रियामा रहेको सडक डिभिजन कार्यालय चन्द्रनिगापुरले जनाएको छ।

यस्तै, कटहरिया–गरुडा जोड्ने झाँस पुलमा एपेक्स–रवि जेभी काठमाडौँले सात वर्षअघि निर्माण थाले पनि हालसम्म ६० प्रतिशत मात्रै प्रगति भएको छ । गरुडा नगरपालिकास्थित तरहरी खोलामा निर्माण सुरु भएको पुलको अवस्था झनै नाजुक छ। करीब दशक बितीसक्दा समेत सो पुलको भौतिक प्रगति ५८ प्रतिशत मात्रै रहेको छ ।

परोहा नगरपालिकास्थित लौकाहा खोलामा निर्माणाधीन पुल नौ वर्षदेखि अलपत्र अवस्थामा छ। सो पुलको प्रगति ५३ प्रतिशत मात्रै रहेको र म्याद थप्ने प्रक्रियामा रहेको सडक डिभिजन कार्यालयले जनाएको छ । त्यस्तै, राजपुर तुलसी चोकदेखि पिपरा बजार जोड्ने झाजखोलाको पुलको प्रगति ३६ प्रतिशतमा सीमित छ ।

माधव नारायण नगरपालिकास्थित झाँझ नदीमा दिवा नियाग्रा–लक्ष्मणरेखा जेभी कन्स्ट्रक्सनले निर्माण गरिरहेको पुलमा चार वर्षमा एकपटक म्याद थप गर्दै जम्मा ५१ प्रतिशत मात्रै प्रगति भएको छ । २०८३ साल वैशाख २१ गते सम्पन्न हुनुपर्ने सो पुल समयमै नबन्ने सङ्केत देखिएको स्थानीय नेता नितिशकुमार गुप्ताले बताउनुभयो ।

२०७८ सालमा बालचनपुर–जंगलसहिया जोड्ने लमहा खोलामा महालक्ष्मी पाण्डे एण्ड कम्पनी–ड्रागन जेभी सातोबाटो ललितपुरले निर्माण थालेको पुलको अवस्था पनि उस्तै छ । २०८० कार्तिक १७ मा सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको सो पुलको म्याद एकपटक थप गरी २०८३ असार २८ सम्म पुर्‍याइए पनि हालसम्म प्रगति ५१ प्रतिशत मात्रै रहेको छ।

यता, गौर–पिपडा–समनपुर सडकखण्ड अन्तर्गत झाँझ नदीमा निर्माणाधीन पुल र वृन्दावन नगरपालिका–१ स्थित विश्रामपुर–हजरिया जोड्ने चाँदी खोलाको पुलको ठेक्का २०७९ जेठ ९ गते अन्त्य गरिएको थियो। यी दुवै पुल पुनः टेन्डर प्रक्रियामा रहेको सडक डिभिजन कार्यालय चन्द्रनिगापुरले जनाएको छ।

सबै पुल अलपत्र भने छैनन्। कटहरियाको क्षति चोकस्थित तरहरी खोलामा निर्माणाधीन पुलको प्रगति ८५ प्रतिशत, गुजरा नगरपालिकास्थित कोटीहार खोलाको पुल ६७ प्रतिशत र चन्द्रनिगाहपुर–गैराटाड जोड्ने चाँदी खोलाको पुल करिब ८२ प्रतिशत प्रगति भएको छ। करुनिया–मटियारवास सडकखण्ड अन्तर्गत लाल बकैया नदीमा निर्माणाधीन पुलको प्रगति ९६ प्रतिशत पुगेको र छिट्टै सम्पन्न हुने तयारीमा रहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

लामो समयसम्म पुल निर्माण सम्पन्न नहुँदा स्थानीय बासिन्दाले सास्ती भोग्दै आएका छन् । वर्षायाममा यातायात अवरुद्ध हुने, विकास निर्माण प्रभावित हुने र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता अझै हट्न सकेको छैन। सरोकारवालाहरूले निर्माण कम्पनीमाथि कडाइ र प्रभावकारी अनुगमन आवश्यक रहेको माग गरेका छन् ।

निर्माणाधीन यी पुलहरूको समयमा नबन्दा स्थानीय बासिन्दाहरू कठिनाइ झेल्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button