तपाईँ सुन्दै हुनुहुन्छः

‘कमजोरी सुधार गर्दै देशको समृद्धिका लागि एकाकार हुनुपर्छ’

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुख्य राजनीतिक दलहरूले आफ्ना कमीकमजोरी सुधार गर्दै देशको समृद्धिका लागि एकाकार भएर लाग्नुपर्ने बताउनुभएको छ । 

पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित केन्द्रीय सदस्यको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उहाँले राष्ट्रलाई थप एकताबद्ध, राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्नका लागि नयाँ सङ्कल्पसहित पहलकदमी लिनुपर्ने आवश्यकता औँल्याउनुभयो । संयोजक दाहालले सबै प्रमुख राजनीतिक दलहरूले आत्मसमीक्षा गरेर विगतमा आफ्ना कमजोरीको मूल्याङ्कन गर्न जरुरी रहेकामा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, “सबै ठिकै चलिरहेको छ भन्नेगरी परम्परागत तरिकाले मात्रै देशमा उत्पन्न परिस्थितिको सामना गर्न सकिँदैन । राष्ट्र जुन असाधारण सङ्कटको अवस्थाबाट गुज्रेको छ, यसलाई थप एकताबद्ध, राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्नका लागि नितान्त नयाँ सङ्कल्पसहित पहलकदमी लिन जरुरी छ भन्ने निष्कर्षका साथ हामीले पार्टी एकता प्रक्रियालाई अगाडि बढाएका छौँ ।”

संयोजक दाहालले देशमा उत्पन्न असाधारण परिस्थितिको सामना गर्नका लागि नेपालको इतिहासमा पहिलो पटक एकैसाथ २० वटा कम्युनिष्ट र समाजवादी घटकलाई एकताबद्ध गर्न सफल भइएको उल्लेख गर्नुभयो । 

“पार्टी एकताको प्रक्रिया दिनप्रतिदिन झन् शक्तिका साथ अगाडि बढिरहेको छ । खाली घटक सङ्गठन मात्रै होइन देशलाई माया गर्ने थुप्रै व्यक्ति व्यक्तित्वहरू पनि जोडिरहेका छन् । अब एकताको उद्देश्य र जेन्जी पुस्ताले अगाडि सारेको सुशासन कायम गर्दै भ्रष्टाचारमुक्त देश बनाउन सबै प्रतिबद्ध भएर लाग्ने छौँ ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button