तपाईँ सुन्दै हुनुहुन्छः

लोकतन्त्रको मजबुतीका लागि निर्वाचनको विकल्प छैन : मन्त्री श्रेष्ठ

पोखरा । नेपाल सरकारकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले लोकतन्त्रलाई सबल बनाउन निर्वाचन अपरिहार्य रहेको बताउनुभएको छ । 

मङ्गलवारदेखि पोखरामा सुरु भएको १४ औँ संस्करणको पोखरा महोत्सवको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले तोकिएको मिति फागुन २१ गते निर्वाचन हुने गरी सरकारले तयारी गरेको उल्लेख गर्दै लोकतन्त्रको मजबुतीको लागि पनि निर्वाचनको विकल्प नभएको बताउनुभयो । 

मन्त्री श्रेष्ठले सन् २०१३ मा पोखरामा भएको अल्ट्रालाइट दुर्घटनामा आफ्ना श्रीमान् स्टेफेन श्रेष्ठलाई गुमाएको पीडा स्मरण गर्नुभयो । उक्त कठिन घडीमा पोखरावासीले दिएको साथ, सहयोग र आत्मीयताले आफूलाई गहिरो भावनात्मक सम्बन्धमा बाँधेको उल्लेख गर्दै उहाँले पोखरालाई आफ्नो दुःख–सुखको माइतीघरको रूपमा लिएको जनाउनुभयो । 

कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णराज पाठकले समयमै फागुन २१ को निर्वाचन सम्पन्न हुन सके मात्र देशमा स्थायित्व कायम हुने धारणा राख्नुभयो । 

सांसद वेदबहादुर गुरुङले पोखरामा चिडियाखाना निर्माणदेखि सेती नदी संरक्षणसम्म युनाइटेड क्लबले अघि सारेका अभियानहरू प्रशंसनीय रहेको बताउनुभयो ।

उद्घाटन सत्रमा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव बराल, पोखरा–१० का वडाध्यक्ष राजेशकुमार गुरुङ, युनाइटेड क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ लगायतको उक्त महोत्सवले पोखराको आर्थिक गतिविधि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । महोत्सवको उद्घाटन सत्र क्लबका अध्यक्ष लोकबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।

पोखराको युनाइटेड क्लबको आयोजनामा अम्मरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा १३ दिनसम्म सञ्चालन हुने महोत्सवमा २ सय ५० स्टलहरू रहेको क्लबका महासचिव तथा महोत्सव प्रचार–प्रसार संयोजक दिनेश सुनारले जानकारी दिनुभयो । आउँदो माघ ११ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिब २ लाख २५ हजार दर्शक भित्र्याउने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button