तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा माघी महोत्सव २०८२ भव्य रूपमा आयोजना हुँदै

वीरगञ्ज । आदिवासी थारु समुदायको प्रमुख पर्व माघी (खिचडी) तथा थारु नयाँ वर्ष २६५० को अवसरमा वीरगञ्जमा यो वर्ष पनि माघी महोत्सव २०८२ भव्य रूपमा आयोजना हुने भएको छ । माघी मूल समारोह समिति २०८२, पर्साको आयोजनामा माघ १ गते आदर्शनगरस्थित स्विमिङ पुल परिसरमा यो कार्यक्रम सम्पन्न हुने आयोजकले जनाएको छ ।

समितिले आज वीरगञ्जस्थित नेपाल पत्रकार महासङ्घको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमसम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरेको हो । समारोहको प्रमुख अतिथिका रूपमा समाजसेवी, शिक्षा प्रेमी तथा थारु कल्याण कारिणी सभाको प्रथम भेला आयोजना गर्ने व्यक्तित्व लक्ष्मीनारायण बन्ठा रहनु हुने छ ।

बन्ठाले आदर्श थारु छात्रावास, कुमाल टोल वीरगञ्जका लागि जग्गा दान गर्नुभएको थियो । माघी समारोहको मुख्य उद्देश्य थारु समुदायको मौलिक भाषा, संस्कृति, परम्परा तथा भेषभूषाको संरक्षण र प्रवर्द्धन गर्नुका साथै सम्पूर्ण थारु समुदायबीच माघी पर्व तथा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नु रहेको माघी मूल समारोह समिति पर्साका संयोजक जङ्गबहादुर चौधरीले बताउनुभयो ।

कार्यक्रममा थारु समुदायका विभिन्न सांस्कृतिक प्रस्तुति, लोकनृत्य, गीत–सङ्गीत, खिचडी महोत्सव तथा अन्य मौलिक कार्यक्रमहरू प्रस्तुत गरिने बताइएको छ । विगतका वर्षहरूमा जस्तै यस पटक पनि यो समारोहले थारु संस्कृतिको जीवन्त प्रदर्शन गर्दै समुदायको एकता र पहिचानलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।

थारु समुदायले माघी पर्वलाई आफ्नो नयाँ वर्षको रूपमा अत्यन्त हर्षोल्लासका साथ मनाउने गर्दछन् । यो अवसरमा वीरगन्जवासी तथा आसपासका क्षेत्रबाट ठूलो सङ्ख्यामा थारु तथा अन्य समुदायका व्यक्तिहरूको सहभागिता रहने आयोजकले विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button