मुगु कर्णाली जलाशययुक्त आयोजनाको अध्ययन सम्पन्न
'५ खर्ब १५ अर्ब लागत अनुमान'
बाजुरा। कर्णाली र सुदूरपश्चिम प्रदेशको दीर्घकालीन आर्थिक रूपान्तरणको आधारका रूपमा हेरिएको १९ सय २ मेगावाट क्षमताको मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ ।

आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रक्रिया समेत तीव्र रूपमा अघि बढिरहेको छ ।
ईआईए अध्ययनअन्तर्गत स्कोपिङ डकुमेन्ट र टर्म्स अफ रिफ्रेन्स वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भइसकेको छ । परामर्शदाता जेड–एनइडीसी जेभी का विज्ञ टोलीले हाल आयोजना स्थलमा बेसलाइन डेटा संकलन, सार्वजनिक सुनुवाइको तयारी लगायतका काम गरिरहेका छन् । सन् २०२२ बाट सुरु भएको अध्ययन प्रक्रिया आगामी फागुनसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
सम्भाव्यता अध्ययनअनुसार आयोजनामा करिब ५ खर्ब १५ अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ । २ सय ८५ मिटर अग्लो ड्यामसहित करिब ४५ किलोमिटर लामो जलाशय निर्माण हुने यस आयोजनाबाट ठुलो आकारको कृत्रिम ताल बन्नेछ । भूमिगत विद्युतगृहबाट उत्पादन हुने बिजुलीले दैनिक ७/७ घण्टा ऊर्जा उपलब्ध गराउने अध्ययनले देखाएको छ ।
मुगु कर्णाली आयोजना केवल विद्युत् उत्पादनमै सीमित नहुने आयोजनाले जनाएको छ । जलाशय क्षेत्रलाई माछा पालन, जल पर्यटन, रिसोर्ट तथा सेवा–आधारित गतिविधिमा प्रयोग गर्ने सम्भावनाबारे छुट्टै अध्ययनको तयारी भइरहेको छ । आयोजनाबाट रामारोशन, खप्तड, बडिमालिका, बुढीनन्दा र रारा जस्ता प्रमुख पर्यटकीय गन्तव्यहरू आपसमा जोडिने भएकाले यस क्षेत्रलाई पर्यटकीय करिडोरका रूपमा विकास गर्न सकिने अपेक्षा गरिएको छ ।हाल अध्ययन भइरहेका जलविद्युत आयोजनामध्ये यो दोस्रो ठुलो आयोजना हो ।








प्रतिक्रिया राख्नुहोस्