तपाईँ सुन्दै हुनुहुन्छः

गोरखाबाट गोरखनाथका लागि ‘खिचडी यात्रा’ सुरु

गोरखा। गोरखा दरवारस्थित गोरखनाथ मन्दिरदेखि भारतको गोरखपुरसम्मको ‘खिचडी यात्रा’ आजबाट सुरु भएको छ ।

बिहान गोरखाको गोरखनाथदेखि ५० जनाको टोलीले भारतको गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्मको यात्रा सुरु गरेका हुन् ।

राष्ट्रिय गौ संरक्षण सङ्घ तथा गुरु गोरक्षनाथ फाउन्डेशनको आयोजना र गोरखा नगरपालिका एवं गोरखा दरबार हेरचाह अड्डाको समन्वयमा खिचडी यात्रा सुरु गरिएको हो । बाजागाजा, मंगलधुन, स्वस्तिक वाचन सहित गोरखपुरसम्मको यात्रा सुरु गरिएको राष्ट्रिय गौ संरक्षण सङ्घ गोरखाका संयोजक होमसिं बस्न्यातले बताउनुभयो । पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरिसकेपछि ‘खिचडी यात्रा’ को थालनी गरिएको उनले जानकारी दिनुभयो

‘राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरेपछि यो यात्राको सुरुवात गर्नु भएको थियो,’ उनले भने, ‘देशमा राजाको बहिर्गमनपछि यात्रा पनि रोकिएको थियो ।’ २० वर्षपछि यात्रा पुनः सुरु गरिएको उनले बताए । उनका अनुसार ‘खिचडी गौ’ यात्रा समेत भनिने यो यात्रालाई विगत दुई वर्षअघि पुनः सुरु गरिएको हो । हराएको संस्कृतिलाई जोगाउन र गोरखामा धार्मिक पर्यटकको आर्कषण बढाउन यात्रा सुरु गरिएको बस्नेतको भनाई छ । खिचडी यात्राले गोरखाको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने विश्वास लिएको छ ।

खिचडी यात्राका लागि यो वर्ष गोरखा नगरपालिकाले डेढ लाख रुपैयाँ सहयोग गरेको छ । नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा नै खिचडी यात्रालाई समावेश गरेर निरन्तरता दिँदै आएको हो ।

गोरखनाथ मन्दिरबाट प्रसादको रुपमा खिचडी लिएर उत्तर प्रदेशमा रहेको गोरखनाथ मन्दिरमा माघी पर्वका ब्रम्हमूर्तको समयमा चढाएपछि मात्र त्यहाँ खिचडी भोग गर्ने परम्परा रहेको छ । यात्रामा रहेको टोली गोरखपुर पुगेर यहाँबाट लगिएको ‘खिचडी’का लागी चाइने १४ प्रकारका काँचो खाद्य बस्तुहरू चढाएर फर्किने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button